प्रधानमन्त्री कार्कीद्वारा मलेसियाको नयाँ मापदण्डको सम्भावित असर अध्ययन गर्न निर्देशन

everest kitchen

१२ कात्तिक, काठमाडौं —
प्रधानमन्त्री सुशीला कार्कीले मलेसिया सरकारले वैदेशिक रोजगार व्यवसायीका लागि तोकेको नयाँ मापदण्डका कारण पर्न सक्ने सम्भावित असरको अध्ययन गरी आवश्यक पहलका लागि गृहकार्य गर्न श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएकी छिन्।

प्रधानमन्त्री कार्कीले आज बिहीबार बिहान सचिव पुष्करलाई आफ्नै कार्यकक्षमा बोलाएर यस विषयमा विस्तृत जानकारी लिएकी हुन्। उनका अनुसार मलेसियाले हालै वैदेशिक रोजगारसम्बन्धी नयाँ नीतिगत मापदण्ड जारी गरेको छ, जसले नेपाली रोजगार व्यवसायमा ठूलो प्रभाव पार्न सक्ने सम्भावना रहेको छ।

सचिव पुष्करले प्रधानमन्त्रीलाई मलेसियाको नयाँ मापदण्डबारे जानकारी दिँदै यो विषय कूटनीतिक माध्यमबाट सम्बोधन गर्नुपर्ने सुझाव दिएका थिए। सो क्रममा प्रधानमन्त्रीले परराष्ट्र, अर्थ र श्रम मन्त्रालयबीच आपसी समन्वय गरी प्रभावकारी कदम चाल्न निर्देशन दिएकी छिन्।

मलेसिया नेपाली कामदारका लागि प्रमुख रोजगारी गन्तव्य मुलुक हो। हाल नेपालमा दर्ता भएका करिब १२०० वैदेशिक रोजगार व्यवसायीमध्ये ९०० कम्पनी मलेसियासँग सम्बन्धित रोजगारमा आश्रित छन्।

नयाँ मापदण्डका कारण नेपालका केवल करिब एक दर्जन ठूला कम्पनीहरू मात्र मलेसियामा कामदार पठाउन योग्य हुने व्यवसायीहरूको भनाइ छ। यसले साना रोजगार कम्पनी र कामदार दुवैमा प्रत्यक्ष असर पार्ने चिन्ता व्यक्त गरिएको छ।