क्वालालम्पुर (मलेसिया)। मलेसियामा सक्रिय वैदेशिक कामदारहरूको संख्या गत वर्षको तुलनामा १३ प्रतिशतले घटेको छ। २०२५ अक्टोबर १५ सम्म मलेसियामा वैध रूपमा कार्यरत विदेशी कामदारको संख्या २१,३२,५७८ रहेको छ, जुन गत वर्षको सोही अवधिमा २४,५२,०१० थियो।
यो कमी मलेसिया सरकारको वैदेशिक श्रममा निर्भरता घटाउने र स्थानीय नागरिकलाई रोजगारीका अवसर विस्तार गर्ने रणनीतिक प्रयासको परिणामका रूपमा देखिएको छ।
मलेसियाका उप–श्रम मन्त्री दातुक सेरी अब्दुल रहमान मोहम्मद का अनुसार बार्हौं मलेसिया योजना (12th Malaysia Plan) अन्तर्गत वैदेशिक कामदारहरूको अनुपात कुल श्रमिक संख्याको १५ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखिएको छ। तेह्रौं मलेसिया योजना (13th Malaysia Plan) अन्तर्गत यो अनुपात क्रमशः २०३० सम्म १० प्रतिशत र २०३५ सम्म ५ प्रतिशत मा झार्ने योजना रहेको छ।
अक्टोबरसम्मका तथ्यांकअनुसार, मलेसियामा सबैभन्दा बढी वैदेशिक कामदार उद्योग क्षेत्र (६,२२,३८८) मा कार्यरत छन्। त्यसपछि निर्माण क्षेत्र (५,८९,६८४), सेवा क्षेत्र (३,९०,६०७), प्लान्टेसन (२,६३,१३१), कृषि (१,५८,६२८), गृह सहायक (१,०७,३७५) र खनन तथा ढुंगाखानी क्षेत्र (७६५) मा कार्यरत छन्।
सरकारले स्थानीय श्रमिकहरूलाई प्रोत्साहन गर्नका लागि २०२३ मार्चदेखि नयाँ वैदेशिक कामदार कोटा स्वीकृतिमा रोक लगाएको छ। साथै, २०२६ सम्म “मल्टि–टियर लेवी मेकानिज्म” लागू गर्ने तयारी भइरहेको छ।
यससँगै मलेसिया श्रम मन्त्रालयले TVET (Technical and Vocational Education and Training) कार्यक्रमलाई सुदृढ बनाउँदैछ, जसका लागि HRD Corp, TalentCorp र PERKESO जस्ता संस्थाहरूसँग सहकार्य भइरहेको छ। यो पहलले स्थानीय श्रमिकहरूको सीप, दक्षता र रोजगारी क्षमता बढाउने अपेक्षा गरिएको छ।
                










