काठमाडौँ, कात्तिक १९ गते। आइसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग चार विकेटले पराजित भएको छ। यससँगै नेपालले शृङ्खलामा लगातार चौथो हारको सामना गर्नुपर्यो।
दुबईस्थित आइसिसी एकेडेमी मैदानमा बुधबार सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा नौ विकेट गुमाउँदै २३९ रनको योगफल तयार पारेको थियो। जवाफी लक्ष्य पछ्याउँदै युएईले ४९.५ ओभरमा ६ विकेटको क्षतिमा २४३ रन जोड्दै खेल जित्यो।
युएईका मुहमद साहदद र मुहमद वासिमले जीतमा प्रमुख भूमिका निर्वाह गरे। साहददले ९६ रनको प्रभावशाली पारी खेल्दा वासिमले ७६ रन जोडे। यस्तै, सोहिब खानले २९ रन, कप्तान अलिसान सरर्फुले १८ रन र हर्षित कौशिकले १३ रनको योगदान दिए।
नेपालका बलरहरू मध्ये करण केसीले ३ विकेट लिन सफल भए भने नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछानेले एक–एक विकेट हात पारे।
नेपालका ब्याट्सम्यानबाट भीम सार्कीले सर्वाधिक ४८ रन बनाए भने कुशल मल्लले ४५, दीपेन्द्रसिंह ऐरीले ३७, आशिफ शेखले ३४, आरिफ शेखले ३० र सन्दीप लामिछानेले १५ रन जोडे।
बलिङतर्फ युएईका ध्रुव परासर, जुनैद सिद्धीकी र मुहमद जवादुल्लाहले दुई–दुई विकेट हात पारे। जाहिद अलले एक विकेट लिए।
यस हारसँगै नेपाल २० खेलबाट १२ अंकसहित सातौँ स्थानमा रह्यो। विजेता युएई समान खेलमा १० अंकका साथ अन्तिम स्थानमै छ।
लिगको शीर्ष स्थानमा २४ खेलबाट ३६ अंक जोडेको अमेरिका छ भने दोस्रो स्थानमा स्कटल्यान्ड (३० अंक) र तेस्रो स्थानमा नेदरल्यान्ड्स (२८ अंक) रहेका छन्।
लिग–२ मा सहभागी आठ टोलीले नौ शृङ्खलामा ३६ खेल खेल्ने कार्यक्रम छ। शीर्ष चार टोली सन् २०२७ को एकदिवसीय विश्वकप छनोटमा प्रत्यक्ष प्रवेश पाउने छन्।










