विदेशमा रहेका नेपालीलाई अनलाइन मताधिकार सुनिश्चित गर्नुपर्नेमा गैरआवासीय नेपाली संघको जोड

everest kitchen

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले विदेशमा रहेका लाखौँ नेपाली नागरिकको मताधिकार अनलाइन माध्यमबाट सुनिश्चित गर्नु आवश्यक रहेको बताएका छन्।

“विदेशमा रहेका नेपाली नागरिक तथा निर्वाचन क्षेत्र बाहिरका मतदाताको मतदान” सम्बन्धी नीति तथा संवाद कार्यक्रम मा अध्यक्ष डा. केसीले प्रविधिको युगमा अनलाइन मतदान प्रणाली सञ्चालन गर्नु नै सबैभन्दा व्यवहारिक र प्रभावकारी उपाय हुने औंल्याएका छन्। उनले नेपाल सरकार र सम्बन्धित निकायहरूले प्रविधिमैत्री नीति निर्माण गरी विदेशमा रहेका नेपालीहरूलाई लोकतान्त्रिक प्रक्रियामा सहभागी गराउनुपर्ने आवश्यकता औंल्याए।

डा. केसीले प्रवासमा रहेका नेपालीहरूको मताधिकार सुनिश्चित गर्नु राज्यको नैतिक र संवैधानिक दायित्व भएको उल्लेख गर्दै आवश्यक कानूनी तथा प्राविधिक तयारी तत्काल अघि बढाउन आग्रह गरे। उनले भने, “हाल विदेशमा रहेका हाम्रा ९० भन्दा बढी राष्ट्रिय समन्वय परिषद् सक्रिय छन्, जसको माध्यमबाट एनआरएनएले विश्वभरका नेपालीहरूलाई संगठित गरेको छ। निर्वाचन आयोगका लागि जनशक्ति, प्रविधि र आर्थिक स्रोत जुटाउन सहयोग गर्न सक्ने क्षमतामा पुगेको छ, त्यसका लागि केवल अवसर दिन आवश्यक छ।”

अध्यक्ष डा. केसीले थपे, “गैरआवासीय नेपाली संघले विगत २२ वर्षदेखि माग गर्दै आएका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार अब उपलब्ध गराउनुपर्छ। विदेशमा रहेका लाखौँ नेपालीहरूले माग गरिरहेका अधिकारबाट वञ्चित राख्नु अन्याय हुनेछ। राज्यले अब उनीहरूको आवाज सुन्नु आवश्यक छ।”

कार्यक्रममा महिला उपाध्यक्ष रोजिना प्रधान राईले पनि विदेशी नेपालीहरूले मतदानमा भाग लिन पाउने व्यवस्था अनिवार्य हुनुपर्ने बताए। उनले अनलाइन मतदान प्रणालीले विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपालीहरूलाई नेपालको लोकतान्त्रिक प्रक्रियामा सहभागी गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा कानूनी सल्लाहकार तेजेन्द्र गिरि, वरिष्ठ सञ्चार तथा वैदेशिक रोजगार अधिकृत इन्द्रलक्ष्मी घिमिरे लगायतले पनि सहभागिता जनाएका थिए।