पोल्यान्डले कडाइ गर्‍यो भिसा नियममा, वैदेशिक कामदार र कम्पनीहरू प्रभावित

everest kitchen

वार्सा (पोल्यान्ड) — पोल्यान्डले आफ्ना भिसा नियमहरू कडा बनाएको छ। नयाँ नियम अनुसार अब रोजगारका लागि अनुमति प्रक्रिया पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण हुनेछ र विदेशी कामदारका लागि कानुनी प्रक्रिया अझ कडा बनाइनेछ।

यो निर्णय त्यसपछि आएको हो जब एक सरकारी अडिटमा अघिल्लो सरकारले एशिया र अफ्रिकास्थित पोल्यान्डका दूतावासहरूले हजारौँ युरोको साटोमा कार्य भिसा वितरण गरेको फेला परेको थियो।

नयाँ नियमअन्तर्गत केही भिसा प्रकारमा रोजगार अनुमति सीमित गरिएको छ, थप कागजात पेश गर्ने अनिवार्यता गरिएको छ र रोजगारदातासँगै कामदारले पनि नयाँ दायित्व वहन गर्नुपर्नेछ। साथै, रोजगार एजेन्सीहरूका लागि पनि नियमहरू अझ कडा बनाइएका छन्।

तर, कडाइका यी कदमहरूले वैधानिक रूपमा सञ्चालन भइरहेका व्यवसायहरूलाई समस्यामा पारेको पोलिस दैनिक Rzeczpospolita ले लेखेको छ। पत्रिकाका अनुसार,“काम र बसोबास कानुनीकरणमा अनियमितता नियन्त्रण गर्ने भन्दै ल्याइएका यी नियमहरूले वैध रूपमा सञ्चालन हुने कम्पनीहरूलाई नै असर पारिरहेका छन्।”

पोल्यान्डको विदेश मन्त्रालयका तथ्यांक अनुसार सन् २०२४ मा कामदार भिसा आवेदन एक चौथाइले घटेर २ लाख ५२ हजारमा सीमित भएको छ। सन् २०२५ को पहिलो नौ महिनामा यो संख्या झरेर १ लाख ६७ हजार मा पुगेको छ।

यीमध्ये अधिकांश भिसा युक्रेनका नागरिकलाई दिइएका थिए, जबकि एशिया र दक्षिण अमेरिकाका नागरिकहरूका लागि पोल्यान्डको रोजगार बजार लगभग बन्द भएको बताइएको छ।

कामदार अभावका कारण धेरै पोलिस कम्पनीहरूले खाली पदहरू भर्न र आफ्नो व्यवसाय विस्तार गर्न गाह्रो भएको बताएका छन्।

व्यवसाय सेवा क्षेत्रका कम्पनीहरूको संगठन ABSLEY द्वारा सन् २०२५ को अक्टोबरमा गरिएको सर्वेक्षणअनुसार, पोल्यान्डका ७७ प्रतिशत सेवा केन्द्रहरूले विदेशी कामदारको बसोबास र वैधता प्रक्रियामा देखिएको कठिनाइले आफ्ना लगानीमा नकारात्मक असर परेको बताएका छन्।

पोल्यान्ड सरकारका अनुसार भने यी कडा नियमहरू पारदर्शिता र कानुनी जिम्मेवारी सुदृढ गर्न आवश्यक कदम हुन्।