एनआरएनए मलेसियाद्वारा सडकबाट उद्धार गरिएका तेजबहादुर मजाकोटीलाई हवाई टिकट प्रदान

everest kitchen

काठमाडौँ । मलेसियामा सडकबाट उद्धार गरिएका नेपाली नागरिक तेजबहादुर मजाकोटीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले हवाई टिकट प्रदान गरेको छ।

पिएनसिसि (प्रवासी नेपाली समन्वय समिति) को आग्रहमा एनआरएनए मलेसियाले मजाकोटीका लागि नोभेम्बर १६ तारिखको उडानका लागि वाटिक एयरको टिकट उपलब्ध गराएको हो।

एनआरएन मलेसियाका अध्यक्ष ईन्द्र लिम्बुको पहलमा गरिएको यो सहयोगले उद्धार कार्यमा राहत पुर्‍याएको बताइएको छ।

परिवारका अनुसार, १६ वर्षअघि रोजगारीका लागि मलेसिया पुगेका मजाकोटी विगत केही वर्षदेखि सम्पर्कविहीन थिए। लामो समयसम्म कुनै अत्तोपत्तो नभएपछि परिवारले पिएनसिसि मार्फत खोजीका लागि आग्रह गरेको थियो।

पिएनसिसि मलेसियाका संयोजक पूर्ण सुब्बाका अनुसार बुकित बिन्ताङ क्षेत्रबाट फेला परेका मजाकोटीलाई नेपाली राजदूतावाससँगको समन्वयमा उद्धार गरिएको हो। उनलाई आकस्मिक आवास र प्राथमिक उपचारका लागि क्रिस्टिना केयर सेन्टरमा राखिएको र त्यसको खर्च दूतावासले बेहोर्ने बताइएको छ। साथै, ट्राभल डकुमेन्ट र अध्यागमनसम्बन्धी सम्पूर्ण खर्च पनि दूतावासले नै व्यहोर्नेछ भने हवाई टिकट एनआरएनएले उपलब्ध गराएको हो।

“मजाकोटीका लागि हवाई टिकट उपलब्ध भएको छ। अब उहाँलाई शुक्रबार अध्यागमनमा लगिने र नेपाल फर्किनका लागि आवश्यक सम्पूर्ण कागजपत्र तयार गरिनेछ,” दूतावासका जनसम्पर्क अधिकृत जयप्रकाश गिरिले जानकारी दिए।