महोत्तरी, विदेशमा अलपत्र परेका नेपालीहरूको हितमा सक्रिय पिएनसिसि (PNCC) र हेल्प मधेसीको प्रभावकारी समन्वय र मानवीय पहलका कारण जलेश्वर–महोत्तरीका अर्जित मण्डल आगामी १९ नोभेम्बर २०२५ मा स्वदेश फर्किन पाउने भएका छन्।
बटिक एयरलाइन्सको बेलुकी ६:१० बजेको उडानबाट नेपाल आउने अर्जितको उद्धार प्रक्रिया PNCC का Outreach Officer सुरेन्द्र महतोको निरन्तर प्रयासपछि सफल भएको हो। परिवारको कमजोर आर्थिक स्थिति र टिकटको अभावका कारण मलेसियामा जेल सजाय पूरा गरे पनि अर्जित लामो समयदेखि Detention Center मै अलपत्र परिरहेका थिए।
यही कठिन परिस्थिति बुझ्दै हेल्प मधेसीले अर्जितलाई एकतर्फी हवाई टिकट उपलब्ध गराएर स्वदेश फर्कने मार्ग खुलेको जनाएको छ। सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध उक्त संस्थाले विदेशमा संकटमा परेका धेरै नेपालीलाई उद्धार, कानुनी सहयोग र टिकट व्यवस्थामा साथ प्रदान गर्दै आएको छ।
PNCC र हेल्प मधेसी, दुबै संस्थाले विदेशमा रहेका श्रमिक र नागरिकलाई सहयोग पुर्याउन आफूहरू सँधै अग्रसर रहने जनाएका छन्। प्रतिनिधिहरूका अनुसार, “सामर्थ्यले पुगेसम्म मानवीय सेवामा निरन्तरता दिने” प्रतिवद्धतासँगै यी संस्थाहरूको समन्वित पहलले धेरै नेपालीको ज्यान, भविष्य र परिवार बचाइरहेको छ।
यो घटनाले पुनः प्रमाणित गर्छ—जब राज्यका नागरिक विदेशमा कठिनाइमा पर्छन्, PNCC र हेल्प मधेसी जस्ता संस्थाहरू नै उनीहरूको मजबुत सहारा बन्छन्।











