काठमाडौं । ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आजदेखि सुरु हुँदैछ ।
रेडियन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा हुने उक्त प्रतियोगिता हुन लागेको हो भने प्रतियोगितामा ४९ टिमले सहभागिता जनाउने भएका छन् ।
रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले विभिन्न ३ विधामा ४९ टिमको सहभागिता निश्चित भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा २५ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् ।
सिनियर ब्वाइजलाई ८ तथा जुनियर ब्वाइज र सिनियर गल्र्सलाई ४ समूहमा विभाजन गरिने छ । सिनियर ब्वाइजमा प्रत्येक समूहको विजेता र उपविजेता प्रिक्वाटरफाइनलमा प्रवेश गर्ने छन् । बाँकी २ विधाका समूह विजेता र उपविजेता क्वाटरफाइनलमा पुग्ने छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने रेडियन्टका संयोजक दिलिप कार्कीले बताए । मंसिर १० गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु स्युचाटारस्थित आयोजककै कोर्टमा खेलाइने छ ।
पत्रकार सम्मेलनमा रेडियन्टकी भाइस प्रिन्सिपल सुभद्रा कुँवर, आईटी इन्चार्ज विनोद कार्की र प्रोग्राम को–ओर्डिनेटर वर्षाकुमारी आचार्यको उपस्थिति रहेको थियो ।










