काठमाडौं । द क्लिफले उत्कृष्ट करदातामा ह्याट्रिक गरेको छ । यस वर्ष पनि पर्वत जिल्लामा दर्ता रहेका करदाताहरू मध्ये सेवा÷उद्योग अन्तर्गत सबैभन्दा धेरै आयकर दाखिला गरेकोले राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालय, बाग्लुङले द क्लिफलाई सम्मान गरेको हो ।
द क्लिफले यसभन्दा पहिले २०८० र २०८१ मा दुई पटक उत्कृष्ट करदाताको रूपमा सम्मान पाएको थियो । यसरी व्यवसाय सञ्चालन गरेको पाँच वर्षको अवधिमै ‘द क्लिफ’ले सबैभन्दा धेरै कर तिर्नेमा ह्याट्रिक गरेको हो ।
कार्यालयका प्रमुख कर अधिकृत प्रमोद कुमार श्रीवास्तवले क्लिफका निर्देशक राजन कुमार जोशीलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।
राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालन हुँदै आएको छ । क्लिफको रिसोर्टमा विश्वकै अग्लो व्यावसायिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, मेगा ट्रोललगायत गतिविधिहरू सञ्चालनमा छन् ।











