प्राग, चेक गणतन्त्र । बिगत केही महिनादेखि चेक गणतन्त्रका विभिन्न क्षेत्र—प्लेजन, कादान लगायतका सहरहरूमा रहेका कम्पनीहरूमा रोमानिया, क्रोएसिया, बुल्गेरिया लगायतका युरोपेली देशहरूको बसोबास अनुमति (EU Residency) प्राप्त नेपाली दाजुभाइहरूलाई विभिन्न प्रलोभन देखाई गैरकानुनी काममा लगाउने गिरोह सक्रिय रहेको जानकारी सार्वजनिक भएको छ।
NRNA Czech Republic का अनुसार, यी समूहहरूले ‘उच्च तलब’, ‘सुबिधासहितको वैध रोजगार’, ‘आवासीय कार्ड बनाईदिने’ जस्ता प्रलोभन देखाई नेपालीहरूबाट पैसा असुल्ने, ठगी गर्ने तथा पछि बिचल्लीमा पार्ने गरेको उजुरीहरू बढ्दै गएका छन्।
ड्रेस्डेन कन्सुलेटले आवेदन बन्द गरेपछि ठगी झनै बढेको संकेत
सामान्यतया चेक गणतन्त्रमा काम गर्न EU मा कम्तीमा २ वर्ष बसोबास गरिसकेको हुनुपर्ने र ड्रेस्डेनस्थित चेक भिसा कन्सुलेटबाट रोजगार वा व्यवसाय भिसा प्राप्त गरी सम्बन्धित इमिग्रेसन कार्यालयबाट कार्ड लिएर मात्र काम सुरु गर्न मिल्थ्यो।
तर हालै प्राप्त सूचनाअनुसार, ड्रेस्डेन कन्सुलेटले नेपालीसहित विभिन्न देशका EU बसोबास प्राप्त नागरिकहरूको नयाँ आवेदन लिन पूर्णरूपमा बन्द गरिसकेको छ। यही परिस्थितिको फायदा उठाउँदै केही समूहहरूले ‘छिटो भिसा मिलाइदिने’ भन्दै नेपालीलाई झनै सजिलै ठगी गरिरहेको NRNA Czech Republic ले बताएको छ।
NRNA को आग्रह—सचेत रहनुहोस्, गैरकानुनी काममा संलग्न नहुनुहोस्
महासचिव बिनोद रिमाल तथा अध्यक्ष इ. छबिलाल कडेलद्वारा जारी सूचना-पत्रमा भनिएको छ,
“अझै पनि केही गिरोहहरू नेपालीलाई प्रलोभनमा पारी गैर–आप्रवासन प्रक्रिया गराइ पैसा हिनामिना गर्दै बिचल्लीमा पारिरहेका छन्। यस्तो समूहबाट सावधान रहन सबैलाई अनुरोध गर्दछौं।”
NRNA Czech Republic ले कुनै पनि प्रकारको सुझाव, जानकारी वा आवश्यक सहायता चाहिने मानिसहरूले आधिकारिक पेज मार्फत सिधै सन्देश पठाई आवश्यक जानकारी लिन सकिने जानकारी दिएको छ।











