काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।
सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४ ओभर एक बलमा ७८ रनमा समेटियो । विराटनगरका लागि ओपनर फाफ डु प्लेसिसले सर्वाधिक ३६ रन बनाए । साम हिजलेट ०, मार्टिन गुप्टिल २, नरेन भट्ट ०, बसिर अहमद १२, लोकेश बम ५, नारायण जोशी १, मार्चन्ट डि लिङ १५, कप्तान सन्दीप लामिछाने ३ र प्रतिश जिसी ३ रनमा आउट भए ।
बलिङमा सुदूरपश्चिमका हर्मित सिंह, अभिनास बोहरा र स्कट कुगेइलेन दुईदुई तथा कप्तान दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले एकएक विकेट लिए ।
त्यसअघि टीयु क्रिकेट मैदानमा विराटनगरविरुद्ध टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो ।
सुदुरपश्चिमले अब उपाधिका लागि शनिबार खेल्नेछ । पराजित भएको विराटनरले दोस्रो क्वालिफायरमा काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबिचको विजेतासँग खेल्नेछ ।











