क्वालालम्पुर। नेपाल थामी समाज मलेसियाको आयोजनामा उधौली भूम्या पूजा २०८२ धार्मिक, सांस्कृतिक तथा सामाजिक गरिमाका साथ आज सफलतापूर्वक सम्पन्न भएको छ। थाङ्मी समुदायको मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन तथा भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
मलेसियामा आयोजित उक्त कार्यक्रममा विभिन्न जातीय तथा सामाजिक संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी, सञ्चारकर्मी र नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा थाङ्मी समुदायको मौलिक पहिचान झल्किने धार्मिक विधि, परम्परागत नृत्य, गीत तथा भेषभूषा प्रस्तुत गरिनुका साथै किराती समुदायका विविध सांस्कृतिक प्रस्तुतीहरूले कार्यक्रमलाई अझै जीवन्त बनाएको थियो।
कार्यक्रमको सभाध्यक्षता नेपाल थामी समाज मलेसियाका अध्यक्ष सन्तोष ठान्ठी थाङ्मीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेपाल राजदूतावास मलेसियाकी कार्यवाहक प्रमुख मुदिता बज्राचार्य सहभागी हुनुभएको थियो। विशिष्ट अतिथिहरूमा नेपाल आदिवासी जनजाति महासङ्घ मलेसियाका अध्यक्ष पदमराज लिम्बु, गैरआवासीय नेपाली संघ (NRNA) मलेसियाका उपाध्यक्ष बालध्वज लिम्बु तथा महासङ्घ मलेसियाका वरिष्ठ सल्लाहकार बिपिन राई रहनुभएको थियो।
त्यसैगरी, विशेष अतिथिहरूका रूपमा नेपाल शेर्पा सङ्घ मलेसियाका अध्यक्ष नावाङ नुरी शेर्पा र नेपाल तामाङ घेदुङ मलेसियाका अध्यक्ष विक्रम वाइबा सहभागी हुनुहुन्थ्यो। विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको समेत कार्यक्रममा उपस्थितिले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो।
कार्यक्रमकै अवसरमा नेपाली समाजप्रति उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो। उत्कृष्ट पत्रकारिता सम्मानबाट दोए मिल दोङ तामाङ र घनश्याम चौधरी सम्मानित हुनुभएको थियो भने उत्कृष्ट समाजसेवा सम्मान बालध्वज लिम्बुलाई प्रदान गरिएको थियो। साथै नेपाल थामी समाज मलेसियाको संस्थागत सुदृढीकरण र दीर्घकालीन योजना निर्माणमा विशेष योगदान पुर्याएको कदरस्वरूप पल ठान्ठी थाङ्मीलाई विशेष सम्मान प्रदान गरिएको थियो।
समापन समारोहमा बोल्दै अध्यक्ष सन्तोष ठान्ठी थाङ्मीले कार्यक्रम सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक सहयोग पुर्याउने सबै व्यक्ति, संघ–संस्था, कलाकार, सञ्चारकर्मी र शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आगामी दिनहरूमा पनि थाङ्मी समुदायको धर्म, संस्कृति र पहिचान जोगाउन सामूहिक सहकार्यको आवश्यकता रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा सहभागी वक्ताहरूले उधौली भूम्या पूजाले थाङ्मी समुदायभित्र एकता, सामाजिक सद्भाव र सांस्कृतिक चेतनालाई थप मजबुत बनाएको उल्लेख गर्दै यस्ता धार्मिक–सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।











