काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पुषको १२ गते राष्ट्रिय सभाको बैठक बोलाउनेगरी हलको व्यवस्थापन हुनुपर्नेमा जोड दिएका छन् । क्षतिग्रस्त संघीय संसद भवनमा रहेको हल तत्काल सम्पन्न गर्न ठेकेदारलाई निर्देशन समेत दिएको बताए ।
मंगलबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले सदन बोलाउने कुरामा अहिलेसम्म सरकारको तर्फबाट सहमति नै भएको भन्दै पुषको १०, १२ गते तिर बैठक बस्ने गरि काम अगाडि बढाएको बताए ।
उनले भने, ‘पुषको १२ गते राष्ट्रिय सभाको बैठक बोलाउने हिसाबले हल बनाउने काम जसरी भएपनि सक्न ठेक्दारलाई निर्देशन दिएका छौ । अब १० गतेसम्म हल तयार हुन्छ होला । प्रधानमन्त्रीसँग सल्लाह गरेर सदन बोलाउने कुरा गर्नेछौ । सदन बोलाउने कुरामा अहिलेसम्म विमति छैन्, कार्यान्वयनमा जाँदा के हुन्छ थाहा छैन् ।’
यस्तै, उनले बैठक बस्ने भन्दै गर्दा वर्तमान सरकारसँग बिज्नेश केही पनि नभएको भन्दै सदनमा पनि १० दिनभन्दा उताको बिज्नेश नरहेको बताए ।
माघको ११ गतेसम्म सबै कामहरु सकाउने हो भने चुनावपछि नयाँ तरिकाले अगाडि बढ्न सक्ने पनि उनको भनाई छ ।
आवश्यकता र बाध्यता जे कारणले भएपनि देशमा पैदा भएको नयाँ राजनीतिक परिस्थितिको कारण प्रतिनिधि सभा विघटन गर्ने निर्णय भएको भन्दै त्यसको केही दिनसम्म काम गर्न धेरै नै गाह्रो भएको उनले बताए ।










