मुगु । हिमाली जिल्ला मुगुमा बाल अधिकार बारे सचेतना र बालविवाह न्यूनीकरणका लागि साझा अभियान सञ्चालन भईरहेको छ ।
मुगुमा लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएका गैरसरकारी संस्थाहरूले साझा अभियान चलाउन लागेका हुन् । यसका लागि जिल्लामा कार्यरत सबै गैरसरकारी संस्था एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।
बालविवाह न्यूनीकरण गर्न उनीहरूले सहकार्यका लागि बालविवाह न्यूनीकरण गर्न साझा अभियान गरेका हुन् । यो अभियानमा जिल्लामा रहेका सक्रिय १० वटा गैरसरकारी संस्थाहरु लागिरहेका छन् । कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र सिडिएसपार्क मुगुको संयोजकत्वमा यो सञ्जाल गठन गरिएको छ ।
जसमा ग्रामिण सामुदायिक संस्था, नेपाल पत्रकार महासंघ मुगु , आई.एन.एफ नेपाल , किर्डाक नेपाल, हिरिसडेक , सहास नेपाल मालिका सामुदायिक विकास केन्द्र , जनसमुदाय सेवा केन्द्र , नागरिक समाज मुगु लगायतका संस्थाले बालविवाहविरुद्ध साझा अभियान सुरु गरेको कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र सिडिएसपार्क मुगुका कार्यकारी निदर्शेक अजबहादुर शाहीले बताए ।
बालविवाहको साझा अभियानमा छायाँनाथ रारा नगरपालिका , मुगुम कार्मारोङ्ग गाउँपालिका , सोरु गाउँपालिका र खत्याड गाउँपालिकामा यस अभियानले नमुनाको रूपमा काम गर्ने कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र मुगुका सिनियर ब्यवस्थापन प्रमुख रुप बहादुर मल्लले विश्वास गरे । संघ संस्थाहरूको साझा अभियानमा संञ्चार क्षेत्रलाई समेत प्राथमिकताका साथ जोडेका छन् ।











