मस्कट, ओमान — ओमानस्थित नेपाली राजदूतावासले अनौपचारिक माध्यमबाट गरिने विप्रेषण कारोबार (हुण्डी) गैरकानूनी रहेको जनाउँदै त्यस्तो गतिविधि निरुत्साहित गर्न नेपाली समुदायसँग सहयोगको अपिल गरेको छ।
राजदूतावासका अनुसार सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी गतिविधिमा वित्तीय लगानी निवारणका लागि नेपालतर्फ तथा नेपालबाट विदेशतर्फ हुने विप्रेषण कारोबार अनौपचारिक माध्यमबाट हुन नदिनु नेपाल सरकारको अन्तर्राष्ट्रिय दायित्व हो। अनौपचारिक विप्रेषण कारोबार (हुण्डी) का कारण मुलुकमा वैदेशिक मुद्राको अभाव सिर्जना भई शोधनान्तर भुक्तानी क्षमतामा ह्रास आउने, साथै अन्तर्राष्ट्रिय निकाय तथा समुदायको निगरानीमा पर्न गई अर्थतन्त्रमा नकारात्मक असर पर्ने जनाइएको छ।
विदेशमा रही अनौपचारिक रूपमा विप्रेषण कारोबार (हुण्डी) गरेको वा संकलित रकम नेपाल नपठाएको सम्बन्धी गोप्य सूचना परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालय तथा सम्बन्धित निकायमा विद्युतीय माध्यमबाट पठाउने नीतिगत व्यवस्था अनुसार राजदूतावासले आवश्यक कार्य गरिरहेको पनि जनाएको छ।
यसै सन्दर्भमा, ओमानमा रहनुहुने नेपाली नागरिक तथा संस्थालाई नेपालमा रकम पठाउँदा वा नेपालबाट रकम ल्याउँदा अनिवार्य रूपमा बैंकिङ च्यानलको मात्र प्रयोग गर्न अनुरोध गरिएको छ। साथै, कसैले अनौपचारिक माध्यम प्रयोग गरी हुण्डी कारोबार गरेको सूचना वा जानकारी भएमा सम्बन्धित व्यक्ति वा संस्थाको विवरण राजदूतावासको इमेल eonmuscat@mofa.gov.np मा पठाई हुण्डी कारोबार निरुत्साहित गर्ने अभियानमा सहयोग गर्न आग्रह गरिएको छ।
राजदूतावासले प्राप्त हुने सम्पूर्ण जानकारी अत्यन्त गोप्य राखिने स्पष्ट गर्दै नेपाली समुदायको सक्रिय सहकार्यको अपेक्षा गरेको छ।












