क्योटो । जापानको कान्साईमा रहेका नेपाली सहयोगार्थ अक्ष्यकोष स्थापना गर्न सांगीतिक धमाका २०२६ हुने भएको छ । गैरआवासीय नेपाली संघ जापान कान्साई क्षेत्रीय समितिको आयोजनामा कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा नेपालबाट कलाकारहरु गायक हेमन्त शर्मा, गायक प्रकाश पराजुली र गायिका अस्मिता डल्लाकोटीका साथै स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
कान्साईमा रहेका नेपालीहरुमा पर्ने विभिन्न समस्या समाधान गर्न आर्थिक रुपमा सहज बनोस् भनेर कार्यक्रमको आयोजना गर्न लागिएको समिति उपसंयोजक शंकर भुसालले जानकारी दिए । भुसालका अनुसार अक्ष्यकोष निर्माण गरेर त्यसलाई बढाउदै लिने र त्यहीँ कोषबाट कान्साईका नेपालीमा विभिन्न सेवा तथा सहयोग गर्न सकिनेछ ।
कार्यक्रम सनराईज ईभेन्ट हल ओशाकामा अंग्रेजी नयाँ बर्षको दिन सांझ चारबजेदेखि हुनेछ । कार्यक्रम हेर्ने दुईहजार ऐनको टिकट किन्नुपर्ने उल्लेख छ ।











