निलाईमा टेलिमेडिसिन सेवासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

everest kitchen

क्वालालम्पुर, मलेसियाको निलाई क्षेत्रमा टेलिमेडिसिन सेवासम्बन्धी सचेतना कार्यक्रम बिहीबार सम्पन्न भएको छ। पिएनसिसि मलेसियाको संयोजनमा आयोजित उक्त कार्यक्रममा निलाई क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँगको समन्वयमा प्रवासी श्रमिकहरूका लागि प्रदान गर्दै आएको टेलिमेडिसिन सेवाबारे जानकारी दिइएको थियो। टेलिमेडिसिन सेवा भनेको विद्युतीय माध्यममार्फत स्वास्थ्यसम्बन्धी सुझाव, सल्लाह, उपचार तथा परामर्श प्रदान गर्ने सेवा हो।

यस सेवाअन्तर्गत प्रवासी श्रमिकहरूले आफ्नो स्वास्थ्य समस्याअनुसार सम्बन्धित चिकित्सकसँग अनलाइन माध्यमबाट परामर्श लिन सक्नेछन्। नेपाली समयअनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म WhatsApp, Viber, Imo तथा Botim प्रयोग गरी सेवा लिन सकिने व्यवस्था गरिएको छ। यो सेवा पूर्ण रूपमा निःशुल्क रहेको छ। सेवा लिन इच्छुक श्रमिकहरूले ००९७७-९८५१३४५७०१ वा ००९७७-९८५१३४५७०२ नम्बरमा सम्पर्क गर्न सक्नेछन्।

वैदेशिक रोजगार बोर्डको संयोजनमा वीर अस्पतालले प्रदान गर्दै आएको यस टेलिमेडिसिन सेवालाई मलेसियामा कार्यरत अधिकभन्दा अधिक नेपाली श्रमिकहरूमाझ पुर्‍याउने उद्देश्यले सचेतना कार्यक्रम आयोजना गरिएको कार्यक्रमका सहजकर्ता जीवन देवानले जानकारी दिनुभयो।

कार्यक्रम पिएनसिसि मलेसियाका संयोजक पूर्ण सूब्बाको उपस्थितिमा सम्पन्न भएको थियो भने कार्यक्रमको व्यवस्थापन रेखा लिङ्दमले गर्नुभएको थियो।