क्वालालम्पुरस्थित नेपाली दूतावासद्वारा तीन नेपाली नागरिकको उद्धार तथा स्वदेश फिर्ता।

everest kitchen

क्वालालम्पुर — गम्भीर स्वास्थ्य समस्या तथा आर्थिक अभावका कारण मलेसियामा अलपत्र परेका तीन जना नेपाली नागरिकलाई नेपाली राजदूतावास, क्वालालम्पुरले आवश्यक सहयोग प्रदान गर्दै स्वदेश फिर्ता गराएको छ।

सन् २०२५ को डिसेम्बर महिनामा विभिन्न समयमा दूतावासमा सम्पर्कमा आएका ती नेपाली नागरिकहरू मानसिक तथा शारीरिक रूपमा कमजोर अवस्थामा रहेको पाइएको थियो। उपचारका लागि उनीहरूलाई Christinas Caregiving Home Care Centre मा पठाइएको र करिब दुई हप्ताको उपचारपछि स्वास्थ्यमा सुधार आएपछि स्वदेश फिर्ताको प्रक्रिया अघि बढाइएको दूतावासले जनाएको छ।

दूतावासले निःशुल्क यात्रा अनुमति पत्र जारी गर्नुका साथै मलेसियाको अध्यागमन विभागसँग समन्वय गरी ओभरस्टे जरिवाना शुल्क भुक्तानी गराई उनीहरूको नेपाल फिर्ता सुनिश्चित गरेको हो।

उक्त नागरिकहरूको हवाई टिकट गैरआवासीय नेपाली संघ मलेसियाका भूतपूर्व अध्यक्ष श्री विनोद थापाले उपलब्ध गराउनु भएकोमा दूतावासले धन्यवाद व्यक्त गरेको छ। दूतावासले प्रवासी नेपाली, व्यवसायी तथा संघ–संस्थाहरूको सहयोगले यस्ता मानवीय कार्य सम्भव भएको उल्लेख गरेको छ।