मकवानपुर । भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा सुमो गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज साझ करिब ५:२० बजे काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना.१ ज १७७८ नम्बरको सुमो गाडी सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली ५:३० बजे घटनास्थलमा पुगेर उद्धार कार्य गरेको थियो । सुमोमा सवार ९ जनालाई उद्धार गरी उपचारका लागि हेटौंडातर्फ ल्याइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ६ जना पुरुष, १ जना महिला, १ बालिका र १ बालक रहेका छन् । प्रहरीका अनुसार ७ जनाको अवस्था गम्भीर र २ जना (बालक/बालिका) को अवस्था मध्यम रहेको छ ।
दुर्घटनाग्रस्त सुमो गाडी घटनास्थलमै रहेको छ। दुर्घटनास्थल ईलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब ३ किलोमिटर उत्तर–पूर्वमा पर्दछ ।











