क्वालालम्पुर , दूतावास, मलेसिया तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका उपाध्यक्ष एवं सफल व्यवसायी बालध्वज योङहाङ लिम्बूको सहयोगमा पर्सा जिल्लाका नासिर मियाको उद्धार भई उनी स्वदेश फर्किन सफल भएका छन्। नासिर मिया ८ जनवरीका दिन बाटिक हिमालयन एयरलाइन्सको उडानमार्फत नेपाल प्रस्थान गरेका हुन्।
मानसिक सन्तुलन असामान्य अवस्थामा रहेका नासिर मिया १९ डिसेम्बरका दिन नेपाली दूतावास, मलेसिया पुगेका थिए। सो अवसरमा दूतावासका जनसम्पर्क अधिकृत जय प्रकाश गिरीले उनलाई भेटी आवश्यक सोधपुछ तथा अवस्था बुझ्ने कार्य गरेका थिए। सोधपुछका क्रममा नासिर मिया करिब १० वर्षअघि रोजगारीका लागि मलेसिया आएका र लामो समयदेखि अवैधानिक रूपमा बसोबास गर्दै आएको तथ्य खुलेको थियो।
उनको दयनीय अवस्थालाई मध्यनजर गर्दै जनसम्पर्क अधिकृत गिरीले दूतावासको रोहबरमा नासिर मियाको अवस्थाको निरीक्षण गरी तत्काल उद्धार आवश्यक रहेको निष्कर्षसहित पहल सुरु गरेका थिए। उद्धारका लागि प्राथमिक उपचार, अस्थायी आश्रय (सेल्टर), अवैधानिक बसाइका कारण लाग्ने अध्यागमन जरिवाना तथा स्वदेश फिर्तीका लागि हवाई टिकटको व्यवस्था आवश्यक रहेको थियो।
उक्त सम्पूर्ण प्रक्रियामा लाग्ने खर्च व्यहोर्ने प्रतिबद्धता एनआरएनए मलेसियाका उपाध्यक्ष बालध्वज योङहाङ लिम्बूले जनाएपछि उद्धार प्रक्रिया अगाडि बढेको हो। नासिर मियाको प्राथमिक उपचार तथा केयर सेन्टरमा बसोबासका लागि आरएम ८५०, अध्यागमन जरिवानाबापत आरएम ५२० तथा हिमालयन एयरलाइन्सको हवाई टिकट शुल्क आरएम १,१०० गरी आवश्यक सम्पूर्ण खर्च बालध्वज योङहाङ लिम्बूले व्यहोरेका छन्।
नेपाली दूतावास, मलेसियाका जनसम्पर्क अधिकृत जय प्रकाश गिरीका अनुसार उद्धारका लागि आवश्यक आर्थिक व्यवस्थापन बालध्वज योङहाङ लिम्बूले गर्नुभएको हो भने निःशुल्क ट्राभल डकुमेन्ट जारी गर्ने, केयर सेन्टरसम्म पुर्याउने, अध्यागमन कार्यालयमा आवश्यक समन्वय गर्ने तथा विमानस्थलसम्म पुर्याउने सम्पूर्ण व्यवस्थापन दूतावासले गरेको हो।
यस अवसरमा नेपाली दूतावास, मलेसियाले मानवीय सेवामा उल्लेखनीय योगदान पुर्याएकोमा एनआरएनए मलेसियाका उपाध्यक्ष बालध्वज योङहाङ लिम्बूप्रति विशेष धन्यवाद व्यक्त गरेको छ। साथै, विदेशमा समस्यामा परेका नेपाली नागरिकहरूको उद्धार तथा सहयोगका लागि अन्य संघ–संस्था, समाजसेवी तथा सक्षम व्यक्तिहरूलाई समेत सहकार्य र सहयोग गर्न दूतावासले आह्वान गरेको छ।











