यौन शोषण र भष्ट्राचार आरोप लागेका भतिजोका कारण दलाई लामा तनाबमा

everest kitchen

काठमाडौ । तिब्बती धर्मगुरु एवं आध्यामिक नेता दलाई लामाका भतिजा तेन्जीन ताक्लाका कारण लामाको सचिवालय र निर्वासित सरकारभित्र तनाब पैदा भएको छ । जीवनको उत्तरार्धमा प्रवेश गर्दैगर्दा भतिजोको कथित आपराधिक काण्ड बाहिरिएपछि ९० वर्ष नाघेका बयोवृद्ध लामाको विशाल धार्मिक तथा राजनीतिक विरासतलाई नै हल्लाइदिएको भन्दै धर्मशालामा चिन्ता बढेको हो ।

स्रोतका अनुसार ताक्ला मदिरा यौन र युवतीहरुको मामिलामा निकै कमजोर छन् । उनको सम्बन्ध लामाको दर्शन गर्न गएका कम्तिमा २५ जना केटीहरुसँग भएको दाबी गरिएको छ । गत वर्ष मात्र परस्त्रीसँग लागेर आफुलाई दिनहुँ कुटपिट (घरेलु हिंसा र व्यभिचार) गर्ने गरेको कुरा श्रीमती छिरिङ डोल्कारले सामाजिक सञ्जाल मार्फत सार्वजानिक गरेपछि श्रीमान ताक्लाको अत्याचारबारे खुलेको थियो । दलाई लामाको दर्शन गर्न आएका २५ जना युवतीलाई विभिन्न प्रलोभनमा पारि यौनशोषण गरेको स्रोतको दाबी छ । जसका कारण उनीहरुको पारिवारिक छवि नै चकनाचुर भएको थियो । ताक्लाकै कारण हालै संसारलाई हल्लाएको कथित ‘एप्सिटन फाईल’मा पटक पटक दलाई लामाको नाम र प्रसङ्ग उठेको बताइएको छ ।

ताक्लाले आफ्नो पदलाई व्यक्तिगत लाभको लागि प्रयोग गर्ने गरेका छन् । आलोचकहरुका अनुसार, ‘उनी एक वास्तविक निरंकुश हुन्, जसले दलाई लामाको छविको आडमा आफ्नो कुकृत्यलाई ढाक्ने कोसिश गरेका छन् । वास्तवमा दलाई लामासँग सर्वसाधारणको पहुँचलाई नियन्त्रण गरी उनले आफ्नो फाइदाको लागि आफ्नो पदको दुरुपयोग गरेका छन् ।’ तिब्बती मुद्दाका लागि प्राप्त मानवीय सहायता कोषलाई अमेरिकामा विलासी सम्पत्ति खरिद गर्न र व्यक्तिगत खर्चमा डाइभर्ट गरेको आरोप पनि उनलाई लागेको छ ।

ताक्लाकै कारण अहिले तिब्बतीन निर्वासित सरकार र दलाई लामाको सचिवालयनै धर्मसंकटमा परेको छ । ताक्लाका हरेक गतिविधिलाई नजिकबाट नियालेका तिब्बतीयन अधिकारीहरुले दलाई लामाको भतिजो भएको कारण र सचिवालयमा रहेर काम गर्ने गरेका कारण केही बोल्न सकेका छैनन् ।

स्रोतका अनुसार दलाई लामाको सचिवालय समेत दुई भागमा विभाजित भएको छ, जसका कारण धर्मशालामा तनाब पैदा भएको छ । एकपक्षले ‘दलाई लामाको बदनाम गर्न र तिब्बत आन्दोलनलाई तुहाउन विरोधीहरुले चलखेल गरेको’ आरोप लगाएको छ । अर्को पक्षले तेन्जीन ताक्ला नै खराब भएका कारण उनको बारेमा विभिन्न कुराहरु उठेको भन्ने पक्षमा छ । ताक्ला युवती र मदिरामा कमजोर रहेको तथा उनले दलाई लामा भेट्न आउनेलाई विभेद गर्नेदेखि भित्री सुचना चुहाउने गरेको भन्दै ताक्ला नै खराब भएको निस्कर्ष अर्को पक्षले निकालेको हो । स्रोतका अनुसार तेन्जीन ताक्लाले दलाई लामाको नाममा उठेको रकमबाट बिदेशमा सम्पती जोडेको भन्ने आरोप समेत लाग्न थालेको छ ।

पछिल्ला दिनमा तेन्जीन ताक्लाको नाम जोडिएर स्वयंम दलाई लामा कै बदनाम हुने खालका खबरहरु बाहिर आउन थालेको भन्दै यसलाई रोकथाम नगरे भोलिका दिनमा ठुलो समस्या पैदा हुने दलाई लामाको सचिवालयभित्रै कुरा उठ्न थालेको छ । स्रोतका अनुसार अहिले हरेक दिन सचिवालय र तिब्बतीयन सरकारभित्र यसैका बारेमा चर्चा र छलफल हुनेगरेको छ ।

त्यसैगरी तेन्जीन ताक्लाले दलाई लामा र तिब्बती सुचना भारतलाई बाईपासगरी सिधै अमेरिकी अधिकारीलाई दिने गरेको आरोप समेत लाग्ने गरेको छ । धर्मशाला स्रोतका अनुसार गत वर्ष ताक्लाले लामाको निजी स्वास्थ्य जानकारी, अज्ञात यात्रा योजनाहरू र वरिष्ठ भारतीय अधिकारीहरूसँग गरिएको निजी कुराकानीबारे अमेरिकी अधिकारीहरुलाई सूचना चुहाएको आरोप लागेको छ । जसका कारण भारतीय सुरक्षा एजेन्सीहरु पनि ताक्लाप्रति सशंकित रहेको बुझिएको छ । जसले दलाई लामाको सरकारको सुरक्षा प्रोटोकलहरूको बारेमा गम्भीर चिन्ताहरू उठाएको छ ।

तिब्बती समुदायको लागि सबैभन्दा चिन्ताजनक कुरा, ताक्लाको प्रभावमा दलाई लामाको उत्तराधिकारमा हस्तक्षेप गरेको आरोप छ । उनी गान्डेन फोड्राङ ट्रस्टका प्रमुख सदस्य हुन् । जुन दलाई लामाको पुनर्जन्म पहिचान गर्ने पवित्र र संवेदनशील प्रक्रियाको निरीक्षण गर्ने जिम्मेवार निकाय हो । यस्तो निकायलाई ताक्लाले आफ्नो दवाब र प्रभावमा पारी उत्तराधिकारी छनोटमा आफ्ना कुरा लागु गर्न खोजेको आरोप समेत लगाइएको छ । यही कारण तिब्बती युथ कांगे्रसका ३२ सदस्यहरूले गत वर्ष सो ट्रस्टबाट ताक्लाको राजीनामा माग्दै निवेदन दिएका थिए ।उनीहरुले ताक्लाको अनियन्त्रित शक्तिले उत्तराधिकारी छनोट प्रक्रियालाई नै विवादित बनाउने, तिब्ब्ती समुदायभित्र गुटबन्दी बढाएर समुदायलाई विभाजन गर्ने अवस्था आउने आरोप लगाएका थिए ।

धर्मशाला स्रोतका अनुसार भतिजोको बारेमा नकारात्मक कुराहरु आउन थालेपछि दलाई लामा स्वयं तनावमा परेका छन् । दुई वर्षको अवधिभित्र आफ्ना दुई प्रिय भाइलाई गुमाउँदा तनाबमा रहेका लामालाई अनेक काण्डमा फसेको भतिजोको खबरले झनै तनाब बढाएको छ ।

त्यसैगरी ताक्लाले दलाई लामालाई झुक्याएर नेपालमा जेनजी आन्दोलनपछि बनेको शुसिला सरकारलाई बधाई दिएर नेपाल र चीनको सम्बन्धमा समेत दरार ल्याएका थिए । स्रोतका अनुसार ताक्लाले झुक्याएर दलाई लामालाई हस्ताक्षर गर्न लगाएर नेपालमा सुशीला सरकारलाई इतिहासमै पहिलोपटक बधाई दिन लगाएका थिए । जसका कारण नेपालमा खैलाबैला मच्चिएको थियो । दलाई लामाको आडमा तेन्जीन ताक्लाले यस्तै मनोमानी गरेमा तिब्बत आन्दोलन नै खतरामा पर्ने भन्दै तिब्बतीन अधिकारकर्मीले पटकपटक विरोध गर्दै आएका छन् ।

उता दलाई लामा र उनको सचिवालयले भने यस बारेमा केही पनि बोलेको छैन । सार्वजानिक रुपमा ताक्लाको बारेमा यति धेरै कुरा निस्कदा समेत सचिवायले केही प्रतिक्रिया जनाएको छैन ।