प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमाले सांसद थेवेको माग

everest kitchen

काठमाडौं । नेकपा एमालेका सांसद क्षितिज थेवेले राष्ट्रिय सीमासँग जोडिएको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याएर संसदमा माफी माग्नुपर्ने बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थेवेले आफूहरू विरोधका लागि मात्र नभई राष्ट्रिय हित र राष्ट्रिय सुरक्षासँग जोडिएको गम्भीर विषयमा धारणा राख्न उभिएको बताए।

उनले सांसदहरूको मुख्य दायित्व संविधानसँग नबाझिने गरी राष्ट्रिय हितका लागि आवश्यक कानुन निर्माण गर्नु रहेको उल्लेख गर्दै सार्वजनिक बिदा वा अन्य कुनै बहाना नबनाई कानुन निर्माणमा पूर्ण रूपमा समर्पित रहेको बताए।

थेवेले राष्ट्रिय सीमाको विषय कुनै दल विशेषको मात्र नभई समग्र राष्ट्रसँग जोडिएको विषय भएकाले त्यसलाई राष्ट्रलाई केन्द्रमा राखेर हेर्नुपर्ने धारणा राखे। सत्तापक्षका सांसदहरूले सहीलाई सही र गलतलाई गलत भन्ने साहस देखाउने अपेक्षा आफूले गरेको पनि उनले बताए ।

‘सत्तापक्षको माननीयज्यूहरु सहीलाई सही र गलतलाई गलत भनेर परिवर्तनशिलताको नारा ल्याउनुभएको थियो । यस्तो राष्ट्रिय सुरक्षाको विषयमा, सिमानाको विषयमा प्रतिपक्ष मात्र होइन हामी पनि उभिएर संसदमा गलतलाई गलत भन्नुहुन्छ भन्ने पूर्ण आश लागेको थियो,’ उनले भने ।

उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले राष्ट्रिय सुरक्षा र सीमासम्बन्धी संवेदनशील विषयमा प्रश्न उठाएको भन्दै त्यसलाई सच्याएर माफी माग्नुपर्ने माग गरे।

‘यो केवल पार्टीको विषय मात्र रहेन, राष्ट्रलाई शिरमा राखेर हेर्नुपर्छ,’ उनले भने, ‘प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिलाई सच्याएर माफी मागेर कार्यसूचीमा जानुपर्छ।’

थेवेले सीमासम्बन्धी विषयमा संसद र राजनीतिक दलहरू एकजुट हुनुपर्ने आवश्यकता पनि औंल्याए।