
मकवानपुर जिल्लामा शान्ति सुरक्षा कायम गर्न सक्रिय भूमिका निर्वाह गर्दै आएका प्रहरी निरीक्षक धर्मराज खत्री जेठ महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ´ पुरस्कारबाट सम्मानित भएका छन्। हाल वडा प्रहरी कार्यालय सानोपोखराको इन्चार्जको जिम्मेवारी सम्हालिरहेका उनले अपराध नियन्त्रण र अनुसन्धानमा उल्लेखनीय कार्यसम्पादन गरेका कारण उक्त सम्मान प्राप्त गरेका हुन्।
प्रहरी निरीक्षक खत्रीले जिम्मेवारी सम्हालेपछि लागूऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रण, काठ तस्करी, जुवाखाल सञ्चालन नियन्त्रण तथा विभिन्न आपराधिक गतिविधिविरुद्ध प्रभावकारी अभियान सञ्चालन गर्दै आएका छन्। उनले छोटो अवधिमै विभिन्न सफल अपरेशनमार्फत प्रहरी संगठनको कार्यक्षमता प्रमाणित गरेका छन्।
करिब एक साताअघि हेटौंडा–४ कमलडाँडाबाट ब्राउन सुगरसहित चार जनालाई नियन्त्रणमा लिन सफल भएका खत्रीले मकवानपुरमा चोरी तथा डकैतीमा संलग्न भई फरार रहेका अभियुक्तहरूलाई समेत मोरङ पुगेर पक्राउ गरी कानुनी दायरामा ल्याएका थिए।
त्यसैगरी, वडा प्रहरी कार्यालय सानोपोखराको नेतृत्व सम्हालेपछि जिल्लाको सुरक्षा अवस्था, अपराधको स्वरूप तथा संवेदनशील क्षेत्रहरूको अध्ययन गर्दै निगरानीलाई थप कडा बनाएका छन्। जुवाखाल नियन्त्रणदेखि लागूऔषध कारोबार, उत्पादन तथा ओसारपसारसम्मका गतिविधिमाथि उनको निगरानी प्रभावकारी देखिएको छ।
आज मात्रै हेटौंडा उपमहानगरपालिका–४ स्थित शीतलमहल चोकबाट ४ किलो ७० ग्राम अफिमसहित दुई जनालाई नियन्त्रणमा लिन प्रहरी टोली सफल भएको थियो। सोही कार्यसम्पादनको मूल्यांकन गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी श्यामबहादुर खत्रीले प्रहरी निरीक्षक धर्मराज खत्रीलाई ‘पुलिस अफ द मन्थ’पुरस्कार प्रदान गरेका हुन्।
जिल्लामा शान्ति सुरक्षा मजबुत बनाउन दिनरात खटिने प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्ने उद्देश्यले हरेक महिना उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान गर्ने परम्परा कायम गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।











