दाइजोको निहुँमा हत्या भएको माइती पक्षको आरोप, रौतहटमा नवविवाहिताको शंकास्पद मृत्यु

everest kitchen

रौतहट, २८ असार। रौतहटको कटहरिया नगरपालिका–३ बरेडवामा एक नवविवाहित महिलाको शंकास्पद मृत्यु भएपछि घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलाएको छ।

माइती पक्षले दाइजोको विषयलाई लिएर हत्या गरिएको आरोप लगाएपछि प्रहरीले घटनाको विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार कटहरिया नगरपालिका–३ बरेडवा निवासी निरज कुमार साह सोनारकी करिब २० वर्षीया श्रीमती निशा कुमारी साह सोनार शनिबार आफ्नै सुत्ने कोठामा साडीको पासो लगाई घरको बाँसको कोरोमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय गरुडाबाट इन्स्पेक्टर प्रमोद खड्काको नेतृत्वको टोली परिचालन गरी घटनास्थलको मुचुल्का तथा प्रारम्भिक अनुसन्धान गरिएको प्रहरीले जनाएको छ। कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ।

यता मृतकका बुबा, ईशनाथ नगरपालिका–जटहरा निवासी रबिन्द्र साह सोनारले आफ्नी छोरीको हत्या गरी घटनालाई आत्महत्याजस्तो देखाउन शव झुन्ड्याइएको आरोप लगाएका छन्। उनका अनुसार गत फागुनमा विवाह भएपछि निरज साह सोनारले पटक–पटक एसी, नगद तथा अन्य दाइजोको माग गर्दै छोरी माथि मानसिक र शारीरिक यातना दिने गरेका थिए।

घटनापछि मृतकका श्रीमान घर छाडेर सम्पर्कविहीन भएको दाबी पनि उनले गरेका छन्। घटनापछि स्थानीयवासी र आफन्तले निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी बसन्त गौतमले घटनाको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन र अनुसन्धानबाट मात्रै पुष्टि हुने बताए। हाल सबै पक्षबाट प्रमाण संकलन तथा आवश्यक अनुसन्धान भइरहेको भन्दै अनुसन्धान पूरा नभएसम्म कसैलाई दोषी ठहर गर्न नमिल्ने उनले स्पष्ट पारेका छन्।