काठमाडौं, ०८ साउन । मकालु वाइन इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासनको प्रक्रिया अघि बढाएको छ। कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबर ९० लाख कित्ता आईपीओ जारी गर्ने प्रस्ताव अनुमोदन गर्न साउन २३ गते विशेष साधारणसभा बोलाएको हो।
कम्पनीको सञ्चालक समितिको साउन ६ गते बसेको बैठकले विशेष साधारणसभा इटहरीस्थित सोल्टी वेस्टेन्ड इटहरीमा बिहान ११ बजे आयोजना गर्ने निर्णय गरेको जनाएको छ। सभाको मुख्य एजेन्डा सर्वसाधारणमा ९० लाख कित्ता आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नु रहेको छ।
यसका साथै, जगेडा कोषमा रहेको संस्थापक शेयर प्रिमियम मूल्यमा जारी गर्ने प्रस्तावमाथि पनि सभामा छलफल हुनेछ। आईपीओ निष्कासनसँग सम्बन्धित आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तथा अन्य आवश्यक प्रस्तावमाथि पनि निर्णय गरिने कम्पनीले जनाएको छ।
विशेष साधारणसभाबाट प्रस्ताव पारित भएपछि कम्पनीले नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त गरी आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाउने अपेक्षा गरिएको छ।











