मारिएका भनिएका अल बन्ना जब एक बर्ष पछि फर्किए जिउँदै, गाजावासीमा खुसी

everest kitchen

गाजा, ८ साउन। गाजामा हजारौं परिवार आफ्ना प्रियजनको बेपत्ता अवस्थालाई अझै पनि स्वीकार गर्न संघर्षरत रहेकै बेला हमादा अल बन्ना जीवितै फर्किए पछि यस प्यालेस्टिनी क्षेत्रमा आश्चर्य छाएको छ।

 

सन् २०२३ मा सुरु भएको इजरायलको नरसंहारकारी युद्धमा उनी मारिएको विश्वास गर्दै अल बन्नाको परिवारले करिब एक वर्षअघि नै उनको शोकसभा आयोजना गरेको थियो।

उनको कथाले आफ्ना प्रियजनको फिर्ती वा उनीहरूबारे कुनै जानकारीको प्रतीक्षा गरिरहेका हजारौं परिवारको पीडालाई उजागर गरेको अलजजिराले जनाएको छ ।

गाजास्थित स्वास्थ्य मन्त्रालयले करिब ३ हजार ५०० जना प्यालेस्टाइनी हराएको विवरण प्राप्त भएको जनाएको छ भने गाजाकै  अल दमीरलगायतका अधिकारवादी समूहहरूले हराउनेहरूको संख्या ९ हजार ५०० रहेको अनुमान गरेका छन्।

 

उत्तरी गाजाको जिकिम क्रसिङ नजिकै आफ्नो परिवारको लागि सहयोग खोज्न हताश यात्रा गर्दा अल बन्नाको दुःस्वप्न सुरु भयो, जहाँ उनी विशाल भीडमा आफ्ना भाइ अदम यासेर अल बन्नबाट अलग भएका थिए। अदमलाई भने इजरायली सेनाले गोली हानी मारेको थियो।

 

‘म पीठोको झोला बोकेर घर जाँदै थिएँ। म यसलाई समातेर फिर्ता बोकेर हिँडिरहेको थिएँ, मैले यो पाउन सफल भएकोमा खुसी थिएँ,’ उनले भने, ‘त्यसपछि, अचानक, कसैले मलाई फोन गरेर भन्यो, तिम्रो भाइ मारिएको छ।’

 

अल बन्नाले एक महिना अघि मात्र अर्को भाइ अमजद गुमाएका थिए। उनले अर्को क्षति भोगेको विश्वास गर्न अस्वीकार गरे तर फोन गर्ने व्यक्तिले यो सत्य हो भनेर कसम खाए पछि उनले पीठोको झोला खसाले र आफ्नो भाइलाई खोज्न हतारिए।

 

‘अचानक, अर्को ठूलो विस्फोट भयो,’ उनले भने, ‘मेरो खुट्टा, हात, छाती र पेटमा चोट लागेको थियो। मेरो सम्पूर्ण शरीरमा चोट लागेको थियो।’

 

अल बन्ना बेहोस भए र दुई महिना पछि इजरायलको बेरशेबास्थित सोरोका मेडिकल सेन्टरमा कोमाबाट ब्यूँझिए। उनले त्यहाँ ६ महिना बिताए, उपचार प्राप्त गर्दै इजरायली जेलमा स्थानान्तरण गरियो, जहाँ उनलाई चार महिना एकान्त कारावासमा राखिएको थियो।

 

‘पक्कै पनि, मैले यातना र पीडा देखेँ। मैले जतिसुकै बताए पनि मैले जे भोगेँ त्यसको बयान गर्न सक्दिनँ,’ उनले अलजजिरासँग भने, ‘मलाई त आफूले देखिरहेको त्यो यातना र पीडामा रहिरहनु भन्दा मृत्यु नै बेस लाग्यो।’

 

इजरायली नियन्त्रणमा एक वर्ष बिताए पछि अल बन्ना अन्ततः करिब दुई हप्ता अघि मात्रै रिहा भएका हुन् । उनी बेपत्ता भएको समयमा उनकी मंगेतर रिम जादल्लाहले उनको खोजी कहिल्यै छोडिनन्, उनी जीवितै हुन सक्ने सम्भावनालाई उनले कायमै राखिन् जबकि सबै संकेतहरूले उनको मृत्यु भइसकेको देखाउँथे। उनको अवस्थाबारे आधिकारिक जानकारी पाउन असफल भएपछि मुद्दाको पैरवी गर्न वकिल राख्न उनले आफ्ना सुनका गहनाहरू बेचेकी पनि थिइन ।

 

छ महिनाको खोजी पछि वकिलले परिवारलाई अल बन्नाको मृत्यु भइसकेको जानकारी दिए। गहिरो शोकमा डुबेको परिवारले उनको रिहाइ हुनु भन्दा करिब दुई महिनाअघि तीन दिनसम्म शोकसभा आयोजना गरेको थियो।

 

इजरायली जेलवाट रिहा भएपछि अल बन्नाले सबैभन्दा पहिले आफ्ना बुबालाई फोन गरे। ‘मैले भनेँ– बुबा, म हमदा हुँ।’ उनले जवाफ दिए, ‘हमदा को हो ?’ मेरो छोरा त मारियो। हामीले उसको लागि तीन दिनको शोकसभा गरेका थियौं,’ अल बन्नाले अल जजिरालाई बताए।

 

‘म रुन थालेँ र उनलाई भनिरहेँ- म हमदा हुँ। उनले भने, ‘तिमी जीवित छौ भन्दैछौ, मेरो छोरा त मारियो। के तिमी मलाई जिस्क्याउँदैछौं,’ अल बन्नाले फेरि फोन गरे, यसपटक उनले बुबालाई बन्दरगाहमा गाडी पठाउन भने किनभने उनी रेड क्रससँगै आइपुग्दैँ थिए।

 

जब उनी अन्ततः आफ्नो घरको ढोकाबाट भित्र पसे, उनकी आमा उनको अँगालोमा बेहोस भइन्।

 

‘अहिले पनि हरेक दिन उहाँ मलाई हेर्नुहुन्छ र भन्नुहुन्छ कि म यहाँ छु भन्ने कुरा उहाँलाई पत्यारै लाग्दैन। उहाँ मलाई भन्नुहुन्छ, ‘बाबु, हामीले तिम्रो लागि शोक सभा गरेका थियौं। मारिएका तिम्रा दाजुभाइहरूजस्तै तिमीलाई पनि फेरि कहिल्यै देख्न पाइँदैन भन्ने लागेर हामीले आशा मारिसकेका थियौं,’ उनले भने।

 

घर फर्किएर बस्न थाले पनि इजरायली जेलको पीडादायी सम्झनाले उनलाई अझै सताइरहन्छ। ‘सुत्दा म अझै जेलमै छु भन्ने सपना देख्छु। हरेक दिन म मेरो शरीरबाट बमका छर्राहरू निकाल्छु। मेरो खुट्टा दुख्छ, अनि अण्डकोष, मुटु, सबै कुरा दुख्छ,’ उनले भने, ‘हो, म अहिले स्वतन्त्र छु तर म पहिले जस्तो मान्छे अब रहिन् ।’