काठमाडौं । हरिशयनी एकादशीको हिन्दु धर्मावलम्वीहरुको महत्वपूर्ण पर्व हो । यसै दिनदेखि भगवान विष्णु चार महिनाका लागि योगनिद्रामा जाने धार्मिक विश्वास छ । यही अवसरमा घर–घरमा तुलसी रोप्ने र त्यसको नियमित पूजा–आराधना गर्ने परम्परा रहिआएको छ ।
यो परम्परा केवल तुलसीको पूजा मात्र नभई प्रकृतिप्रतिको सम्मान र संरक्षणसँग पनि जोडिएको छ । धार्मिक मान्यताअनुसार भगवान विष्णु योगनिद्रामा रहँदा उनको दिव्य शक्ति तुलसीमा आविर्भाव हुने विश्वास गरिन्छ ।
हरिशयनी एकादशीमा रोपिएको तुलसीको चातुर्मासभर श्रद्धापूर्वक पूजा गरिन्छ भने हरिवोधिनी एकादशीका दिन भगवान विष्णु योगनिद्राबाट जागृत हुने विश्वासका साथ तुलसी विवाह सम्पन्न गर्ने शास्त्रीय परम्परा रहेको छ ।
नेपाल न्यूज बैंकसँगको संवादमा उपप्राध्यापक डा. नारायण प्रसाद निरौलाले शास्त्रले निर्देश गरेका विधि, कर्म र आचारलाई श्रद्धापूर्वक पालन गर्नु नै धार्मिक परम्पराको मूल आधार रहेको बताएका छन् । उनले संक्रान्ति तथा अन्य पुण्यकालमा स्नान, शुद्धता, दान र धार्मिक आचरणको विशेष महत्व रहेको बताएका हुन् ।
उनका अनुसार आषाढ शुक्ल पक्षको एकादशी, जसलाई हरिशयनी एकादशी भनिन्छ । यस वर्ष हरिशयनी एकादशी साउन महिनामा पर्नुको कारण चन्द्रमास र सौरमासबीचको अन्तर तथा अधिकमास रहेको निरौलाले बताए ।
उनले भने, ‘तुलसी रोप्ने प्रसंग पृथक र महत्वपूर्ण छ । त्यसैले आषाढ शुक्ल पक्षको एकादशी, जसलाई हरिशयनी एकादशी भनिन्छ यस वर्ष साउनमा परेपनि मूलत चन्द्र र सौर दुइवटा महिनाहरू हुन्छन् र चन्द्रमासलाई धार्मिक कर्महरूमा उपयोग गरिन्छ । यो सौरमास अनुसारको महिना हो ।’
यस वर्ष अधिकमास परेकाले हरिशयनी एकादशी साउनमा परेको बताउँदै उनले आगामी वर्ष भने यो पर्व पुनः असार महिनामै पर्ने बताए । उनका अनुसार चन्द्रमासमा एक अतिरिक्त महिना थपिँदा धार्मिक पर्वहरूको मितिमा यस्तो परिवर्तन देखिने गर्छ ।
उनले भने, ‘चन्द्रमास र सौरमासमा थोरै अन्तर रहन्छ । जेठ महिनामा हेरौँ यसपाली जेठमा अधिक मास भनेको के हो भन्दा एक चन्द्रमास धेरै भयो । त्यो भएको कारणले गर्दा अधिक मास भयो । त्यो अधिक मास परेको कारणले गर्दाखेरि यो वर्षको तुलसी रोप्ने दिन हाम्रो साउनमा पर्न गयो ।’
उनले अनुसार आषाढ शुक्लपक्षको एकादशीलाई हरिशयनी भनिन्छ र हरिशयनी भनेको साक्षात विष्णुहरि भगवान, शयन कक्षमा जानुहुन्छ । किनभने देवताको यो रात हुने समय हो । जसरी हाम्रो एक वर्षमा देवताको एक दिन रात हुन्छ । श्रावणबाट देवताको रात आरम्भ हुन्छ । त्यस कारणले गर्दाखेरि श्रावण महिनाको समयमा शयन गर्ने बेला हुन्छ त्यसले गर्दा भगवान पनि शयन गर्नुहुन्छ ।
निरौलाले हरिशयनी एकादशीदेखि हरिवोधिनी एकादशीसम्मको चार महिनालाई भगवान विष्णुको योगनिद्राको अवधि मानिने धार्मिक विश्वास रहेको बताए ।
उनका अनुसार हरिशयनी एकादशीका दिन भगवान विष्णु शयनमा जानुहुन्छ र त्यसपछि चार महिनासम्म तुलसीको विशेष पूजा–आराधना गर्ने परम्परा छ ।
‘हरिशयनीदेखि हरिवोधिनीसम्मको चार महिनाको समय हुन्छ, जसमा विष्णु भगवान शयन कक्षमा जानुहुन्छ । यही समयमा तुलसी रोपिन्छ र त्यसपछिबाट तुलसीको नियमित आराधना गरिन्छ,’ उनले भने ।
उनले हरिवोधिनी एकादशीका दिन भगवान विष्णु योगनिद्राबाट जागृत हुने धार्मिक मान्यता रहेकाले यही दिन तुलसी विवाह गर्ने शास्त्रीय व्यवस्था रहेको उल्लेख गरे ।
उनले भने, ‘हरिशयनी एकादशीमा तुलसीको रोपण गरिन्छ अनि त्यसपछि सेवा गरिन्छ र हरिवोधिनी एकादशीमा विवाह पनि गरिन्छ । विवाहबारे शास्त्रीय परम्परा छ र शास्त्रीय व्यवस्था नै रहेको छ ।’
उनका अनुसार अनुसार तुलसीलाई भगवान विष्णुको प्रतीकका रूपमा मानिन्छ । हिन्दू धर्ममा ब्रह्मा, विष्णु र महेशलाई क्रमशः सृष्टि, पालन र संहारका देवताका रूपमा स्वीकार गरिने भएकाले तुलसी र भगवान विष्णुबीच गहिरो धार्मिक सम्बन्ध रहेको उनको भनाइ छ ।
उनले प्रत्येक एकादशीको आ–आफ्नै धार्मिक महत्व रहेको बताए । उनले कामिका एकादशीलाई मनोकामना पूरा हुने विश्वाससँग जोडिएको बताए ।
त्यस्तै हरिशयनीदेखि हरिवोधिनीसम्मको अवधि चतुर्मासका रूपमा विशेष मानिने र यस अवधिमा व्रत, पूजा तथा भगवान विष्णुको आराधना गर्दा विशेष पुण्यफल प्राप्त हुने धार्मिक विश्वास रहेको उनले बताए ।
सबै एकादशीको धार्मिक महत्व समान रहेपनि यी दुई एकादशीलाई हिन्दू शास्त्रमा विशेष पर्वका रूपमा वर्णन गरिएको छ ।











