ढाका, १० साउन । बंगालको खाडीमा ३६ दिनसम्म समुद्रमा अलपत्र परेका श्रीलंकाली बाबु छोरा अर्थात माझीलाई शनिबार बंगलादेशको प्रहरीले उद्धार गरेको छ ।
बंगलादेशका महेशखाली प्रहरीको जिम्मामा रहेका माझीहरूका अनुसार खराब मौसममा माछा मार्ने क्रममा उनीहरूको डुंगाको इन्जिन बिग्रिएको थियो। त्यसपछि डुंगा बग्दै गएर अन्ततः बंगलादेशको जलक्षेत्रमा प्रवेश गरेको थियो।
उनीहरूका अनुसार समुद्रमा अलपत्र परेको बेला समुद्री डाकुहरूले उनीहरूमाथि आक्रमण गरी डुङ्गामा भएका सबै सामान र बन्दोबस्तीका सामग्रीहरू लुटेर लगेका थिए।
बंगलादेशका मिडियाका अनुसार महेशखालीको कुतुबजोम युनियनअन्तर्गत साउथ पारा गाउँका जियाउर रहमानको माछा मार्ने डुङ्गाका माझीहरूले समुद्रमा माछा मारेर फर्कने क्रममा ‘गुलिरधार’ भन्ने ठाउँमा ती दुई विदेशी माझीसहितको अलपत्र डेनिस डुङ्गा फेला पारेका थिए।
त्यस पछि बंगलादेशका माझीहरूले ती बाबु छोराको उद्धार गरे र बिग्रिएको डुङ्गालाई आफ्नै माछा मार्ने डुङ्गामा बाँधेर ताजियकाथा घाटसम्म ल्याए पछि ती दुई श्रीलङ्कन माझीले डुङ्गा मालिक जियाउर रहमानको घरमा आश्रय लिएका छन ।
प्रत्यक्षदर्शीहरूका अनुसार उद्धार गरिएको डेनिस डुङ्गाभित्र कुनै सामान थिएन र त्यहाँ भएका सामग्रीहरू लुटिएको स्पष्ट सङ्केतहरू देखिएका थिए । महेशखाली प्रहरी चौकीका इन्चार्ज अब्दुस सुल्तानले घटनाको पुष्टि गर्दै ती दुई विदेशी माझी अहिले प्रहरीको नियन्त्रणमा रहेको बताए। उनले उनीहरूको परिचय पुष्टि गर्न तथा आवश्यक कानुनी र कूटनीतिक प्रक्रियाहरू पूरा गर्न आवश्यक कदम चालिँदै गरेको जानकारी दिए।











