कबिता – जीवन
चन्द्रकला अधिकारी
हिमालको
स्वच्छता
प्रकृतिको
मिजासिलो मुहार
जीवन पनि त
सरिता बनेर उदाउनु पर्छ…
निष्कलङ्क भावसहित
जन्मनु
र मर्नुको यथार्थमा
आफ्नो जिन्दगीमा
सार्थकताको झोली
भिरेको अनुभूति
जब हुन्छ
त्यहाँ छ
असल जीवन
जो निस्वार्थ
परोपकारी
मानवतावादी
भातृत्वप्रेम
विश्वबन्धुत्वसाथ
शान्तिको
माला गाँसी
सहिष्णुताको
विगुल फुकी
मातृत्वप्रेम
राष्ट्रियता
भावनात्मकता
र भरिलो मौलिकतामा
जीवन भर्नुको
मज्जा बेग्लै रहेछ …
धरती टेक्नुमात्र
जीवन होइन
इन्द्रेनीका रङहरू उनेर
सीमान्तीय
उत्पीडित
शासित
दमितहरूका
आवाजको स्पर्श गर्नु छ..
खुला आकाशलाई
छाना बनाएका
मातृभूमिको
अभिभारा लिएर
आमाको ममता
बाबाको कर्तव्य
चेलीहरूको माया
आफन्तको
इमान बोकी असल
र जिम्मेवारीको गह्रौँ ढाकर
सम्हाल्नु छ..
हुन त यहाँ जीवनका
अनेक फूलहरू
फुलेका छन्
कोपिलाहरू
चुँडिएका छन्
फुलका
रङहरू हराएर
बिरङ्गी
बनेका छन्
प्रकृतिको दोहनमा
मानव जीवन नै
धराप भएको बेला
ए ! सबैले बुझौँ
आखिर
हामी सबै
माटोमै मिल्ने न हो
सडकको
पेटीमा वास भए पनि
झुपडीमा
वनस भए पनि
महलकै
वास भए पनि
आफूभित्रका
सम्भावनाहरू खोतलेर
जीवनको अर्थ बुझ्नलाई
सरलता नै
काफी बन्नेछ
सहजता नै
काफी छ
सर्वसंवेद्यतामा ।।
फालेलुङ -८, पाँचथर
 
                










