काठमाडौं, ९ बैशाख । लेखक श्रेयज सुवेदीको पहिलो कथा सङ्ग्रह ‘बहुरूपी’ शनिवार सार्वजनिक भएको छ ।
एकसाथ काठमाडौँका ७ स्थानबाट पाठकहरुसँगको अन्तरक्रियासँगै पुस्तक बिक्रीका निम्ती सार्वजनिक गरिएको हो ।
पुस्तक सार्वजनिकको परम्परागत शैलीभन्दा पृथक् रूपमा सिनेमाको बजारीकरण गरेजस्तै उक्त किताबको काठमाडौं बालुवाटारस्थित बुक्स मण्डला, चियावाला थापाथली, सिभिल मल सुन्धारा, आइप्लेक्स मल बानेश्वर र ललितपुरको लबिम मल, चियामाया झम्सिखेल, पिमवहालका बुक स्टलबाट सार्वजनिक गरिएको हो ।
बिभिन्न बुक स्टलमा पुगेका पाठकहरूसँगको अन्तरक्रिया, पुस्तक हस्ताक्षर र बिक्रीसँगै पुस्तक गदास् पाठकले कुनै सिनेमाको बजारीकरण भएको जस्तै महसुस गरेका थिए ।
मधेश प्रदेशको धनुषा जिल्लाको पोर्ताहामा घर भएका सुवेदीको जन्मथलो भने पर्सा जिल्लाको वीरगंज महानगरपालिकामा भएको थियो ।
वीरगञ्ज कृषि औजार कारखानामा सुवेदीको बाल्यकाल बितेको थियो। त्यहाबाट हेटौडा हुदौ हाल महालक्ष्मी नगरपालिकाको लामाटारमा बसोबास गर्दै आएका छन ।
३१ वर्षीय सुवेदी बिगत एक दशकबाट अटो इन्डस्ट्रीमा सेल्स डिपार्टमेन्टमा काम गर्दै आएका छन । हाल उनी बीवाईडी नेपालमा डिलरशिप सेल्स हेर्दै आएका छन । त्यहीँ उनको बजारीकरणको अनुभवका कारण उनले सिनेमाको बजारीकरण गरेजस्तै पुस्तकको प्रचार–प्रसार गरेका हुन ।
पुस्तक लोकार्पणको परम्परागत शैली त्यागेर अब नयाँ बजार व्यवस्थापनमा लाग्नुपर्ने लेखक सुवेदी बताउँछन् । उनी भन्छन्, ‘यो पुस्तक मैले करिब पाँच वर्ष अगाडी कोरानाकालमा लेखेको हुँ ।’
कथावाचनको परम्परागत शैलीभन्दा भिन्न रहेर ६ वटा खण्डमा विभाजन गरिएका १५ वटा कथाहरू बहुरूपीमा रहेका छन् । ती हरेक कथाले मधेशको जीवन, प्रकृति, भूगोल, भाषा र स्थानीयपनलाई बोकेका छन्। युवाका मनोविज्ञान, सपना र भोगाइलाई आकर्षक शैलीमा सुवेदीले प्रस्तुत गरेका छन्।
सधैं शान्त बस्न रुचाउने सुवेदीले फरक तरिकाले पुस्तक लोकार्पण भएकोमा खुशी लागेको बताए । उनले भने, ‘मेरा कथामा मेरै शैलीको मेरैपन भएकोले केही फरक होस् भन्ने थियो, लोकार्पणले त्यसको शुरुवात भएको हो।