रौतहट ११ बैशाख। रौतहट जिल्लाकै प्रथम महिला संघीय सांसद मधेश प्रदेश सभा सदस्य तथा पूर्व मंत्री स्वर्गिय डिम्पल झाको तेस्रो पुण्यतिथिको अवसरमा ५१ हजारको डिम्पल स्मृति पुरस्कारको घोषणा गरिएको छ।
उनको गृहनगर रौतहटको दुर्गा भगवती गाउँपालिका–२ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले उक्त डिम्पल स्मृती पुरस्कारको घोषणा गरेका हुन।
वडा अध्यक्ष झाले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो आधिकारिक आईडी मार्फत लेखेका छन ,हाम्रो दुर्गा भगवती गाउँपालिका–३ ३ मत्सरीको बुहारी डाक्टर डिम्पल झा । वहाँ नारी मात्र नभई एक क्रांतिकारी निडर महिला थिइन्। रौतहट जिल्लाकै प्रथम महिला संघीय सांसद प्रदेश सभा सदस्य हुदै मंत्रीसम्म पुगेर मत्सरी तथा हाम्रो दुर्गा भगवती गाउँपालिका कै नाम इतिहासको पानामा अमर गरेर अल्पआयुमै हामीलाई छोड़ेर गएको आज ३ वर्ष भयो। वहाँ प्रति हार्दिक श्रद्धांजलि प्रकट गर्दैछु । वहाँको स्मृतिमा अब उपरान्त दुर्गा भगवती गाउँपालिका–२ को कार्यालयबाट संचालन हुने ‘छोरी संरक्षण कार्यक्रम’ को नाम परिवर्तन गरी ‘डिम्पल स्मृति छोरी संरक्षण कार्यक्रम’ साथै मेडिकल एमबिविएसको पढाईमा पूर्ण छात्रवृतिमा नाम निकाली अध्ययन गरिरहेका वा आगामी दिनमा नाम निकाल्न सफल हुने मत्सरीका छात्र छात्राहरुलाई नगद ५१ हजार डिम्पल स्मृति पुरस्कार स्वरुप वडा कार्यालय बाट दिने घोषणा गर्दछु,’
स्वर्गीय डाक्टर डिम्पल झा पूर्व मन्त्री तथा पूर्व संघीय सांसद अनिल कुमार झाको श्रीमती थिइन्। क्यान्सर रोगको कारण तीनवर्ष अघि उनको अल्पायुमै निधन भएको थियो।











