साउदी अरेबियामा आप्रवासी घरेलु कामदारहरूमाथी गम्भीर शोषण, विभेद र श्रम अधिकारबाट बहिष्करणको शिकार

everest kitchen

काठमाडौंँ ।  साउदी अरेबियामा कार्यरत आप्रवासी घरेलु कामदारहरूले गम्भीर शोषण, जातीय विभेद (रेसिज्म) र श्रम कानुनी सुरक्षाबाट पूर्ण रूपमा बहिष्करणको सामना गरिरहेका एम्नेस्टी इन्टरनेशनलले जनाएको छ ।

मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संगठनहरूका अनुसार, ती कामदारहरूलाई लामो समयसम्म बिना आराम काम गराइने, तलब नदिने, दुर्व्यवहार गर्ने र आधारभूत स्वतन्त्रता नदिइनेजस्ता गम्भीर समस्याहरू छन्। धेरैजसो महिला घरेलु कामदारहरू अफ्रिकी वा दक्षिण एसियाली मुलुकबाट आएका हुन्छन्, जसले उनीहरूलाई अझ बढी विभेदको शिकार बनाएको छ।

साउदीको “कफाला प्रणाली” अन्तर्गत कामदारहरू आफ्नो रोजगारदाताको पूर्ण नियन्त्रणमा रहने हुँदा उनीहरूले रोजगारी परिवर्तन गर्न वा देश छोड्न पनि स्वतन्त्रता पाउँदैनन्। यो संरचनाले दासप्रथाजस्तै अवस्थाको सिर्जना गरेको भन्दै विभिन्न मानव अधिकार समूहहरूले आलोचना गरेका छन्।

साउदी सरकारले केही श्रम सुधारको घोषणा गरे तापनि घरेलु कामदारहरू ती सुधारको दायरामा नपरेको उनीहरूले बताएका छन्। अधिकारकर्मीहरू र सरोकारवाला संस्थाहरूले साउदी सरकारसँग घरेलु कामदारहरूको श्रम अधिकार सुनिश्चित गर्न, कफाला प्रणाली खारेज गर्न र कानुनी संरक्षण उपलब्ध गराउन आह्वान गरेका छन्।

Picture : Amnesty International