काठमाडौं, ६ जेठ । नेपाल थाइल्याण्डसँग पराजित भएको छ।
आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग नेपाल ७८ रनले पराजित भएको हो।
मंगलबार बेङ्ककको टेर्डथाइ क्रिकेट मैदानमा थाइल्यान्डले प्रस्तुत गरेको १५९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै ८० रन मात्रै बनाउन सकेको हो ।
नेपालका लागि कविता कुँवरले २४, रजाजमति ऐरीले अविजित २० र रुविना क्षेत्रीले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् ।
थाइल्यान्डका लागि ओन्निचा कामचोम्फुले सर्वाधिक चार विकेट लिइन् । उनले १९औं ओभरको तेस्रो, चौथो र पाँचौं बलमा क्रमशः रोमा थापा, ईश्वरी विष्ट र रिया शर्मालाई पभेलियनको बाटो देखाउँदै ह्याट्रिक पूरा गरेकी थिइन् ।
यसैगरी थिपाचा पुथावोङले तीन र सुलेपोर्न लाओमीले एक विकेट हात पारे ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १५८ रनको योगाफल तयार पारेको थियो ।
थाइल्यान्डका लागि नन्नापत कोन्चारोएनकाई २८ बलमा आठ चौकाको मद्दतले अविजित ५० रनको योगदान गरिन् । यसैगरी नटाया बुचथमले ४२ बलमा पाँच चौकासहित ५०, अपिसरा सुवान्चोराथीले २९ र नथ्थकन चन्थमले अविजित १५ बनाए ।
नेपालका लागि राजमति ऐरी र मनिषा उपाध्यायले समान एक विकेट लिए ।
नेपाल र थाइल्यान्ड यसअघि नै विश्वकपको ग्लोबल छनोटमा पुगिसकेका थिए । पहिलो खेलमा दुवैले युएईलाई हराएका थिए ।