भद्रपुर, झापा | २०८२ जेठ १६
पूर्वी नेपालको हक्की विकासमा नयाँ आयाम थप्दै भद्रपुर नगरमा आज भद्रपुर नगर हक्की संघको तदर्थ समिति औपचारिक रूपमा गठन गरिएको छ। सो अवसरमा राष्ट्रिय खेलाडी तथा वरिष्ठ प्रशिक्षकहरूलाई सम्मान गरियो भने हक्की खेल सम्बन्धी ज्ञानवर्द्धक अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भयो।
कार्यक्रमको अध्यक्षता झापा जिल्ला हक्की संघका अध्यक्ष श्री मनोज बुढाथोकीले गर्नुभएको थियो भने प्रमुख अतिथि झापा जिल्ला खेलकुद संघका अध्यक्ष श्री भेषराज कार्की हुनुहुन्थ्यो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलकुद अधिकारी, शिक्षक, खेलाडी, अभिभावक र पत्रकारहरूको उपस्थिती उल्लेखनीय थियो।
नवगठित तदर्थ समितिको संरचना
अध्यक्ष: श्री दिपक खतीवडा
उपाध्यक्ष: श्री युवराज ढकाल
सचिव: श्री खगेन्द्र ढुंगाना
कोषाध्यक्ष: श्रीमती शाकुन्तला चौधरी
सदस्यहरू: श्री रविन सुनुवार, श्रीमती सुनीता चौधरी, श्री भीम चौधरी, श्री मणि कुमार शर्मा, श्री गङ्गा थापा
कार्यक्रममा वरिष्ठ प्रशिक्षक श्री रञ्जन थापालाई तथा राष्ट्रिय खेलाडीहरूलाई सम्मानपत्र, खादा र मायाको चिनो प्रदान गरियो।
राष्ट्रिय खेलाडी श्री चिरन प्रधानले हक्की खेल सम्बन्धी अन्तरक्रिया प्रस्तुत गर्दै नेपालको हक्की विकासका सम्भावना, चुनौती र खेल सुधारका उपायहरूमा चर्चा गर्नुभयो। उहाँले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म हक्कीलाई व्यापक रूपमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो।
वरिष्ठ प्रशिक्षक श्री रञ्जन थापाले हक्की खेलको गुणस्तरीय प्रशिक्षणका लागि निरन्तरता र समर्पण अत्यावश्यक रहेको बताए। उहाँले भन्नुभयो: “सुदृढ प्रशिक्षण, खेलाडीहरूको मनोबल वृद्धि र आधुनिक प्रविधिको प्रयोगबाट मात्र नेपाली हक्की अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन सकिन्छ। यसका लागि सबै तहका सरोकारवालाले सहकार्य गर्नुपर्नेछ।”
अध्यक्ष श्री दिपक खतीवडाले भद्रपुरलाई हक्की खेलको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो भने उपाध्यक्ष श्री युवराज ढकालले सहकार्य र पारदर्शितामा जोड दिनुभयो। सचिव श्री खगेन्द्र ढुंगानाले नियमित प्रशिक्षण र प्रतियोगिताको व्यवस्थापनमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
भद्रपुर नगर हक्की संघले आगामी दिनमा अन्तरविद्यालय प्रतियोगिता, निर्णायक तालिम, महिला हक्की प्रवर्द्धन र स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका प्रतियोगिताहरू सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ। यसरी खेल क्षेत्रको समग्र विकासमा संघको भूमिका थप सशक्त हुने अपेक्षा गरिएको छ।