कुवेतमा ठगी धन्दामा संलग्न नेपाली पक्राउ, अन्तर्राष्ट्रिय गिरोहसँग सम्बन्धको आशंका

everest kitchen

कुवेत सिटी, – कुवेतको आपराधिक सुरक्षा शाखा अन्तर्गतको आर्थिक अपराध नियन्त्रण विभागले एक नेपाली नागरिकलाई स्टिकेटेड बैंक ठगी अपरेशनमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति दुई फरक मुद्दामा (कस.नं. २२५३/२०२४ र २२३४/२०२४) वाञ्छित थिए, जुन दुवै बैंकिङ ठगीसँग सम्बन्धित छन्।

प्रहरीको अनुसन्धान अनुसार, आरोपीले नेपाली समुदायका व्यक्तिहरूबाट बैंक कार्ड र सिम कार्डहरू खरिद गर्ने गरेका थिए। प्रारम्भिक खानतलासीका क्रममा, प्रहरी अधिकारीहरूले उनको साथबाट ८ वटा बैंक कार्ड र ४ वटा सिम कार्ड बरामद गरेका थिए।

पक्राउपछिको सोधपुछमा आरोपीले आफ्नो निवास स्थानमा थप सामग्री रहेको स्वीकार गरेपछि गरिएको खोजीमा थप १२ वटा बैंक कार्ड, १६ वटा सिम कार्ड, र धेरै बैंक सम्बन्धी कागजातहरू, साथै रित्तो (ब्ल्याङ्क) सिम कार्डहरू फेला पारिएको प्रहरी स्रोतले जनाएको छ।

पक्राउ परेका नेपालीले ती कार्डहरू एक जना सहयोगीलाई उपलब्ध गराउने गरेको स्वीकार गरेका छन्, जसले ती सामग्रीहरू विदेश पठाउने गरेको पाइएको छ। ती कार्डहरू प्रयोग गरेर अन्य देशका पीडितहरूबाट अवैध रुपमा पैसा निकाल्ने प्रयास हुँदै आएको प्रहरीको भनाइ छ।

हाल आरोपीलाई सार्वजनिक अभियोजन कार्यालय (Public Prosecution) मा बुझाइएको छ र कानुनी प्रक्रिया अगाडि बढाइएको छ। साथै, प्रहरी अधिकारीहरूले यस मामिलालाई अन्तर्राष्ट्रिय स्तरसम्म फैलिएको ठगी गिरोहसँग जोडिएको सम्भावना रहेको भन्दै थप अनुसन्धान गरिरहेको जानकारी दिएका छन्।

अन्य संलग्न व्यक्तिहरूको खोजीका लागि अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

कुवेतमा रहेका सबै नेपाली नागरिकहरूलाई यस्तो किसिमको अवैध गतिविधिमा संलग्न नहुन र त्यस्ता कार्य देखेमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको छ।

स्रोत: Arab Times Online