इस्तानबुल, टर्की — मे ३०
इराकबाट यूरोप जाने प्रलोभन देखाई टर्कीको इस्तानबुलसम्म पुर्याइएका दुई नेपाली नागरिकलाई पाकिस्तानी दलाल समूहले अपहरण गरी बन्दक बनाएको घटनामा गैरआवसीय नेपाली संघ (NRNA) टर्की को सक्रियतामा उनीहरूको सफल उद्धार भएको छ।
अपहरणमा परेका पीडितहरू कल्याण घर्ती मगर र विरेन्द्र घर्ती मगर दुवै जनालाई टर्कीमा रहेको पाकिस्तानी गिरोहले केही दिनसम्म बन्दक बनाएर शारीरिक तथा मानसिक यातना दिएको पीडितहरूको भनाइ छ। उनीहरूले बताएअनुसार, उनीहरूलाई पठाउने नेपाली एजेन्ट (मानव तस्कर) सँग अपहरणकारीहरूले सम्पर्क गर्दा, “तेरो मान्छे मारी दिन्छौं” भनेकोमा, ती एजेन्टले “मारी दे” भनेर जवाफ दिएको पनि खुलासा भएको छ।
पीडितहरूको उद्धारपछि केही दिनसम्म NRNA टर्कीको संरक्षणमा राखिएको थियो। त्यसपछि संस्थाको पहलमा ट्राभल डकुमेन्ट र हवाई टिकटको व्यवस्था गरि उनीहरूलाई नेपाल फर्काइयो।
नेपाल आइपुगेपछि NRNA टर्कीका अध्यक्ष उज्वल कुमार घिसिङ स्वयं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर पीडितलाई स्वागत गर्न गएका थिए र घरसम्म पुर्याउने जिम्मा समेत लिएका थिए।
यस घटनासँग सम्बन्धित दलालविरुद्ध नेपालमा मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उजुरी दर्ता गर्ने तयारी भइरहेको जानकारी NRNA टर्कीले दिएको छ।
NRNA टर्कीले सबै नेपालीहरूलाई सतर्कता अपनाउन अनुरोध गर्दै भनेको छ, “विदेशमा सुरक्षित भविष्यको सपना देखेर गैरकानुनी बाटो रोज्नु तपाईंको जीवनलाई जोखिममा पार्न सक्छ। दलालहरूको चंगुलमा नपर्नुहोस्।”
संस्थाले यस प्रकारका घटनाबाट शिक्षा लिन र यथासम्भव कानुनी प्रक्रियामार्फत मात्र विदेश जाने अनुरोध पनि गरेको छ।