दोहा, कतार – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले हालै कतारको आन्तरिक मन्त्रालय अन्तर्गतको सामुदायिक प्रहरी विभागसँग विशेष भेटघाट तथा छलफल सम्पन्न गरेको छ। भेटघाटमा नेपाली समुदायको सुरक्षा, जनचेतना तथा सहकार्य सुदृढ गर्ने उद्देश्यका साथ विभिन्न महत्वपूर्ण विषयमा विचार–विमर्श गरिएको थियो।
एनआरएनए कतारका महासचिव रबिन मगरका अनुसार सामुदायिक प्रहरी विभागका निर्देशकसँग भएको भेटमा निम्न विषयहरू प्राथमिकताका साथ उठाइएको छ:
१. समुदाय प्रहरीसँग सहकार्य
चारवटै सामुदायिक प्रहरी कार्यालयसँग परिचय र सहकार्य सुदृढ गर्दै द्विपक्षीय समन्वयलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
२. कोर्निशमा जनचेतना कार्यक्रम
प्रवासी कामदारहरूलाई सुरक्षा, अधिकार र आवश्यक सहयोगबारे जानकारी दिने जनचेतनामूलक कार्यक्रम कोर्निश क्षेत्रमा आयोजना गरिने तयारी छ।
३. जनचेतना हलको माग
प्रत्येक तीन महिनामा एकपटक नेपाली समुदायद्वारा जनचेतना कार्यक्रम गर्न सामुदायिक हलको माग गरिएको छ।
४. लाइफ ज्याकेट अनिवार्यता अभियान
डुङ्गा प्रयोग गर्नेहरूका लागि लाइफ ज्याकेटको प्रयोग अनिवार्य गराउने जनचेतनामूलक अभियान सञ्चालन गरिनेछ।
५. आपसी सद्भाव कार्यक्रम
कतारी समाज र प्रवासी नेपाली समुदायबीच समझदारी र सांस्कृतिक आदान–प्रदान बढाउन संयुक्त कार्यक्रमको प्रस्ताव गरिएको छ।
६. लिमोजिन चालकहरूको सुरक्षा तालिम
लिमोजिन चालकहरूलाई सुरक्षित सवारी, यातायात नियम र ट्राफिक सम्बन्धी जानकारी दिने तालिम कार्यक्रमको योजना बनाइएको छ।
७. विश्व वातावरण दिवस मनाउने
वातावरण संरक्षणप्रति प्रतिबद्धता दर्शाउन शान्तिको प्रतीकका रूपमा पंक्षी उडाउने कार्यक्रम आयोजना गरिनेछ।
८. स्वास्थ्य परीक्षण शिविर
श्रमिक वर्गका लागि स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्न प्रहरीसँग सहकार्य गरिनेछ।
९. महिला प्रवासी कामदारहरूका लागि विशेष कार्यक्रम
महिला प्रवासीहरूको सुरक्षालाई केन्द्रमा राख्दै विशेष जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।
१०. लागूपदार्थ विरोधी अभियान
लागूपदार्थ तथा मदिरा दुरुपयोगविरुद्ध सचेतना फैलाउने र प्रहरीले सञ्चालन गरिरहेको अभियानमा सहयोग गरिनेछ।
११. नेपाली कैदीहरूको रिहाइको अपिल
सामान्य प्रकृतिका अपराधमा सजाय भोगिरहेका नेपाली कैदीहरूको लागि कतारका राष्ट्रिय दिवसहरूमा दया माफीको अनुरोध गरिएको छ।
महासचिव मगरले जानकारी दिएअनुसार, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले नेपाली समुदायको हितका लागि कतार सरकारसँग निरन्तर सहकार्य गर्दै आएको छ र सुरक्षित, सचेत तथा सम्मानजनक समाज निर्माणमा संस्था पूर्ण रूपमा प्रतिबद्ध छ।
– एनआरएन समाचार डेस्क, दोहा