काठमाडौं, १८ जेठ । जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र सुर्खेतवाट १६ जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–२६ पवित्रनगरस्थित होटल रम्भा देवी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका हुन् भने बाँकी ५ जना सुर्खेतवाट पक्राउ परेका हुन् ।
काठमाडौं म्हैपी बस्ने नुवाकोट लिखु गाउँपालिका–३ घर भएका ३७ वर्षीय राजु थापा समेत ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग गोंगबु र प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटीएको प्रहरीले उनीहरूलाई नगद ७५ हजार रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
उता, सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–४ यरिचोकस्थित दैलेख भैरवी गाउँपालिका–२ घर भएका ४० वर्षीय पदम थापाको पंचकोशी ज्वाला रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
यसरी पक्राउ पर्नेमा रेष्टुरेन्ट सञ्चालक पदम समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ९ सय नेपाली रूपैयाँ, २ हजार भारतीय रूपैया र ७ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।