जापानको सेन्दाईमा मादक पदार्थ सेवन गरी गाडी चलाएका नेपाली नागरिक पक्राउ

everest kitchen

सेन्दाई, जापान – जेठ १८
जापानको सेन्दाई शहरको ताइहाकु वार्ड स्थित प्रिफेक्चरल सडकमा मे ३१ तारिख राति ट्राफिक बत्तीमा रोकिएको गाडीलाई ठक्कर दिएको आरोपमा एक नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार, ३१ मे राति करिब ९:४० बजे, ताइहाकु वार्डको निशिनाकाडा क्षेत्रमा ट्राफिक बत्तीमा पर्खिरहेको यात्रुवाहक कारलाई पछाडिबाट अर्को यात्रुवाहक कारले ठक्कर दिएको थियो।
सौभाग्यवश, घटनामा कुनै मानवीय क्षति वा चोटपटक भएको छैन।

घटनापछि अनुसन्धान अघि बढाएको प्रहरीले ४४ वर्षीय नेपाली नागरिक तथा सेन्दाईस्थित एक रेस्टुरेन्टका मालिक राजन ढकाललाई घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो।
प्रहरीका अनुसार, ढकालले कानुनी सीमाभन्दा बढी मदिरा सेवन गरेको पुष्टि भएको र उनले आफैंले मदिरा सेवन गरेको स्वीकार गरेका छन्।

जापानी समाचार संस्था Yahoo News Japan का अनुसार, प्रहरीले हाल घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

जापानमा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउनु गम्भीर अपराध मानिन्छ। यसप्रकारका गतिविधिबाट सार्वजनिक सुरक्षामा खतरा पुग्ने भएकाले प्रशासनले कडा कारबाही गर्ने गरेको छ।

प्रवासी नेपालीहरूलाई यस्ता गतिविधिबाट टाढा रहन र स्थानीय कानुनको पूर्ण पालना गर्न सम्बन्धित निकायहरूले आग्रह गर्दै आएका छन्।