भानु जयन्तीको अवसरमा ओमानस्थित नेपाली राजदूतावासद्वारा “साहित्य र श्रम सचेतना कार्यक्रम” हुने

everest kitchen

मस्कट, ओमान — जेठ २८, २०८२
ओमानस्थित नेपाली राजदूतावासले आउँदो जुलाई ११ (शुक्रबार) का दिन भानु जयन्तीको अवसरमा “साहित्य र श्रम सचेतना कार्यक्रम” आयोजना गर्ने भएको छ। कार्यक्रम नेपाल घर, अल कोरूममा दिउँसो ३ बजेदेखि सुरु हुनेछ।

राजदूतावासले जानकारी गराएअनुसार, कार्यक्रममा श्रव्यदृश्य माध्यम (रिल, टिकटक, भिडियो), हास्यव्यङ्ग्य, कविता, कथा, मुक्तक आदि विधामार्फत श्रम सचेतना फैलाउने उद्देश्य राखिएको छ।

कार्यक्रममा समावेश हुन सक्ने प्रमुख विषयवस्तुहरू यसप्रकार छन्:

  • विदेश जाने क्रममा आवश्यक जानकारी

  • वैदेशिक रोजगारमा ठगीबाट कसरी जोगिने

  • ओमानमा गर्न मिल्ने/नमिल्ने कानुनी विषय

  • साइबर सुरक्षा र सामाजिक सुरक्षा

  • विदेश आउनु पूर्व थाहा हुनुपर्ने तयारीहरू

  • ओमानको स्थानीय कानुन र यसको पालना

राजदूतावासले ओमानमा रहेका सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गर्दै [email protected] मा आफ्नो सिर्जना सामग्रीसहित जानकारी पठाउन अनुरोध गरेको छ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट ठहरिने प्रथम र द्वितीय स्थान प्राप्त ५/५ कृतिलाई पुरस्कार प्रदान गरिनेछ भने सबै सहभागीलाई सम्मानपत्र दिइनेछ। प्रस्तुति समय फर्स्ट कम फर्स्ट सर्भ को आधारमा प्रदान गरिनेछ।

एक निर्णायक मण्डलले उत्कृष्ट कृतिहरू छान्नेछ र तिनलाई राजदूतावासको वेबसाइट तथा फेसबुक पेजमार्फत प्रचारप्रसार गरिने जनाइएको छ।

राजदूतावासले सबै सिर्जनाहरू मौलिक हुनुपर्ने र कानुनी परिधिभित्र तयार पार्नुपर्ने उल्लेख गरेको छ। साथै, कार्यक्रमबारे कुनै सल्लाह वा सुझाव भएमा सादर स्वागत गरिने जानकारी दिइएको छ।