नेपाल मगर संघ बहराइनको १७औं नियमित मासिक बैठक सम्पन्न, नयाँ सचिव नियुक्त

everest kitchen

बहराइन, जुन १३ – नेपाल मगर संघ बहराइनको १७औं नियमित मासिक बैठक संघका अध्यक्ष श्री कृष्ण खाम्चा मगरको अध्यक्षतामा अद्लिया स्थित नेपाली क्लब रेस्टुरेन्टको सभाहलमा सफलता पूर्वक सम्पन्न भएको छ।

बैठकमा संघका महासचिव श्री बिकाश थापा मगरले बैठकको औपचारिक सञ्चालन गर्नुभएको थियो भने संघका कोषाध्यक्ष श्री प्रेम बहादुर थापा मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। बैठकमा संघका विभागीय प्रमुख, कार्यसमिति पदाधिकारी, साधारण सदस्यहरु तथा आजीवन सदस्यहरुको गरिमामय उपस्थिति रहेको थियो।

बैठकको अवसरमा साउदी अरब, रियाद प्रान्तका पूर्व अध्यक्ष श्री बिमल थापा मगरलाई संघमा स्वागत गर्दै अध्यक्ष श्री खाम्चा मगरले खादा ओढाई सम्मान गर्नु भएको थियो। त्यसैगरी, आफ्नो कार्यकाल पूरा गरी नेपाल प्रस्थान गर्न लागेका संघका संस्थापक सचिव एवं पूर्व अध्यक्ष श्री काजी थापा मगरलाई संघ परिवारको तर्फबाट शुभकामना तथा बिदाई कार्यक्रम समेत आयोजना गरिएको थियो।

बैठकमा कार्यकाल २०२४–२०२६ को रिक्त सचिव पदमा हालका सहसचिव श्री दिलु मास्की मगरलाई सचिव पदमा नियुक्त गरिएको छ। उहाँलाई सफल कार्यकालको शुभकामना सहित औपचारिक रूपमा जिम्मेवारी प्रदान गरिएको थियो।

कार्यक्रमको अन्त्यमा संघका अध्यक्ष श्री कृष्ण खाम्चा मगरले कार्यब्यस्तताका कारण अनुपस्थित रहेका पदाधिकारी तथा सदस्यहरूप्रति स्मरण गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै बैठक समापन गर्नुभएको थियो।