कतारमा ट्राफिक सचेतना, श्रमिक सुरक्षा र जनचेतना अभिमुखीकरण कार्यक्रम सम्पन्न

everest kitchen

दोहा, कतार — २०२५ जुन १३, शुक्रबार: गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको आयोजनामा तथा कतार सरकारको गृह मन्त्रालय अन्तर्गत सामुदायिक प्रहरी विभाग र ट्राफिक महनिर्देशनालयको सहकार्यमा आयोजित “ट्राफिक सचेतना, श्रमिक सुरक्षा र जनचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम – २०२५” भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम पर्लिङ इन्टरनेसनल स्कुलको सभाहलमा सम्पन्न भएको हो।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा कतारका लागि नेपाली महामहिम राजदूत श्री रमेश चन्द्र पौडेल सहभागी हुनुहुन्थ्यो। कार्यक्रमका विशिष्ट अतिथिहरूमध्ये सामुदायिक प्रहरी विभागका ले. क. तलाल मुजफ्फर अल मद्गुरी, नेपाली राजदूतावासका प्रथम सचिव श्री कृष्ण सुबेदी, श्रम सहचारी श्री प्रेम पोखरेल, ड्रग्स इन्फोर्समेन्ट विभागका एडमिन डा. नादिर मोहम्मद अब्बराह, खालिद खादवा, डा. बहौद्दीनफैसल अल हुद्वावी लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान तथा पूर्व पदाधिकारी, सल्लाहकार, आईसीसी सदस्य, एनसीसी कतारका प्रमुख सल्लाहकारहरू, नेपाली समुदायका अभियान्ताहरू, कतारस्थित विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा नेपाली समुदायका दाजुभाइ दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रह्यो।

कार्यक्रमको उद्देश्य श्रमिक सुरक्षा, ट्राफिक नियमको पालना तथा विदेशमा रहेका नेपाली समुदायबीच सचेतना अभिवृद्धि गर्नु रहेको थियो। उपस्थित महानुभावहरूमार्फत श्रमिक हकहित, सुरक्षा र कानुनी परामर्श सम्बन्धी महत्वपूर्ण जानकारी तथा मार्गदर्शन प्रदान गरिएको थियो।

कार्यक्रमको समापनमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष श्री रमेश भट्टले सम्पूर्ण अतिथिहरूप्रति हार्दिक आभार प्रकट गर्दै, यस्ता कार्यक्रमहरूले प्रवासी नेपालीहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।