क्वालालम्पुर, मलेसिया – प्रवासी नेपाली समन्वय समिति (पि एन सी सी) द्वारा मलेसियामा आयोजित अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। यो कार्यक्रम मलेसियाको राजधानी क्वालालम्पुर स्थित होटल ग्राण्ड कण्टिनेन्टलमा आयोजित गरिएको थियो।
कार्यक्रममा ३० वटा भन्दा बढी संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो, जसले मलेसियामा रहेका नेपाली समुदायको विविधता र एकताको प्रतीक बने। कार्यक्रममा गैर आवसीय नेपाली संघ मलेसिया (एनआरएन) का अध्यक्ष बिनोद थापा, प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसिया का अध्यक्ष दयाराम कुमाल, रास्वपा प्रवास विभागका सभापति नेत्र केसी, नेपाली व्यवसायी संघ मलेसिया का अध्यक्ष इन्द्र नारायण लिम्बू, किराँत याक्थुङ चुम्लुङ मलेसिया का अध्यक्ष दिल केरुङ लिम्बु, नेपाल तामाङ घेदुङ मलेसिया का अध्यक्ष बिक्रम वाईबा लगायतका प्रमुख व्यक्तिहरूले सहभागिता जनाएका थिए।
कार्यक्रमको संचालन पि एन सी सीका कार्यकारी निर्देशक सोम प्रसाद लामिछानेले गरेका थिए। उनले मलेसियामा रहेका श्रमिक समस्याहरूको समाधानका लागि सबै संघ संस्थाहरूको एकजुटता र समन्वय आवश्यक रहेको बताउनुभयो। लामिछानेले मलेसियामा सक्रिय संघ संस्थाहरूको विवरण संकलन गरेर नेपाल सरकार समक्ष पेश गर्ने र मलेसियामा रहेका क्रीयाशिल संस्थाहरूको उच्च मूल्यांकन गराउन ध्यान आकर्षण गराउने कुरा पनि उल्लेख गर्नुभयो।
यस कार्यक्रमले मलेसियामा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै, श्रमिक समस्यामा सुधार ल्याउन र नेपालीहरूको हितमा काम गर्न प्रोत्साहित गर्ने उद्देश्य राखेको थियो।