काठमाडौं, असार ९ गते:
नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार बोर्डले फर्जी कागजात र नक्कली हकवाला खडा गरी वैदेशिक रोजगारमा मृत्यु वा बिरामी परेका व्यक्तिहरूको नाममा सहायता रकम माग गर्ने प्रवृत्ति बढेकोप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
बोर्डको सचिवालयले असार ९ गते सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका, रोजगार सेवा केन्द्र र आप्रवासी स्रोत केन्द्रहरूलाई परिपत्र पठाउँदै सिफारिस गर्दा विशेष सावधानी अपनाउनुपर्ने निर्देशन दिएको हो।
परिपत्रमा उल्लेख भएअनुसार, नेपाल सरकारले तोकेको श्रम स्वीकृति लिएर वा नलिएर विदेशमा रहँदा बिरामी भएर वा अन्य कारणले मृत्यु भएको अवस्थामा सहायताका लागि पालिका वा रोजगार सेवा केन्द्रमार्फत सिफारिस गरिँदै आएको छ। तर हाल फर्जी कागजात बनाई, नक्कली हकवाला देखाएर आर्थिक सहायता माग गर्ने प्रयास भइरहेका उजुरीहरू प्राप्त हुन थालेपछि बोर्डले यो कदम चालेको हो।
बोर्डले अबदेखि सम्बन्धित हकवालाको निवेदन लिई, सम्पूर्ण कागजातमा सनाखत गराई, सनाखत भएको कागजातसहित FEWIMS प्रणालीमा अपलोड गर्नुपर्ने व्यवस्था अनिवार्य गरेको छ। साथै, प्रमाणसहितको विवरण बोर्डको इमेल [email protected] मा पठाउनुपर्ने समेत स्पष्ट गरिएको छ।
कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले हस्ताक्षरित परिपत्रमा सबै स्थानीय तह र सम्बन्धित निकायलाई सत्यतामा आधारित सिफारिस मात्र गर्ने र दुरुपयोग हुन नदिन विशेष ध्यान दिन आग्रह गरिएको छ।
यस कदमले वैदेशिक रोजगारीमा संलग्न नेपाली श्रमिकहरूको सुरक्षा, सेवा र पारदर्शितामा टेवा पुग्ने अपेक्षा गरिएको छ।











