भिएना, अष्ट्रिया — नेपाली राजदूतावास, भिएनाले राहदानी सेवा सम्बन्धमा अत्यन्त महत्वपूर्ण सूचना जारी गरेको छ। राजदूतावासले कुनैपनि व्यक्तिले राहदानी बनाइदिने नाममा अनधिकृत रूपमा पैसा मागेमा वा अनलाइन फाराम भरिदिने बहानामा शुल्क लिएको खण्डमा तत्काल राजदूतावासमा जानकारी गराउन अनुरोध गरेको छ।
राजदूतावासका अनुसार यस्ता कार्यहरू प्रचलित कानून विपरीत हुने भएकाले दोषीलाई कारवाहीका लागि सम्बन्धित निकायमा उजुरी गरिनेछ।
आवेदन प्रक्रिया यस्तो छ:
अनलाइन आवेदन खुला भएपछि मात्र फाराम भर्नुहोस्।
आवेदन डाउनलोड गरी त्यससँगै राहदानी, नागरिकता र TRC (Temporary Residence Card) को प्रतिलिपि संलग्न गरी
[email protected] मा पठाउनुहोस्।
उपस्थितिको व्यवस्था:
राजदूतावासले प्रकाशन गर्ने सूचिअनुसार तोकिएको मिति र समयमै मात्र इनरोलमेन्ट सेन्टरमा उपस्थित हुनुपर्नेछ।
सूचिमा नाम नभएका व्यक्तिहरूलाई सेवा प्रदान गरिने छैन।
दस्तुर बुझाउने तरिका:
राहदानी नवीकरणका लागि दस्तुर केवल अनलाइन बैंकिङमार्फत तिर्नुपर्नेछ। नगद वा अन्य माध्यमबाट दस्तुर लिने प्रक्रिया छैन।
राजदूतावासले सबै नेपालीहरूलाई सेवा पारदर्शी, सुरक्षित र कानुनी प्रक्रियाबाट लिनु पर्नेमा जोड दिँदै अनधिकृत व्यक्ति वा संस्थाको झाँसामा नपर्न अनुरोध गरेको छ।











