सिड्नी, न्यू साउथ वेल्स
समाचार डेस्क, हिमाल टाईम्स
सन् २०१३ मा अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा अष्ट्रेलिया पसेका प्रताप पन्थीले गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया, न्यू साउथ वेल्स (NSW) को आगामी २०२५–२०२७ कार्यकालको लागि सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।
शिक्षा, व्यवसाय र सेवामूलक यात्राबाट नेतृत्वमा
प्रताप पन्थी एक सफल उद्यमी, शिक्षा परामर्शदाता, र समर्पित सामाजिक अभियन्ता हुन्। विगत आठ वर्षदेखि अन्तर्राष्ट्रिय शिक्षा र आप्रवासन क्षेत्रमा सक्रिय रहेका उनले हजारौं विद्यार्थीहरू र नयाँ आप्रवासीहरूलाई जीवनका चुनौतीहरू जस्तै भिसा समस्या, आर्थिक संकट र सामाजिक एक्लोपन जस्ता विषयहरूमा सहयोग गर्दै आएका छन्।
उनी नेपालमा ICT लगानी, रिमोट रोजगारी सिर्जना र नेपाल–अष्ट्रेलिया बीच सीप आदानप्रदानमा समेत संलग्न छन्। उनी भन्छन्—“शिक्षा र डिजिटल नवप्रवर्तनमार्फत आर्थिक सशक्तिकरण सम्भव छ।”
समुदायका लागि आवाज, युवाका लागि प्रेरणा
प्रताप हाल विभिन्न सामाजिक अभियानहरूमा संलग्न छन्—जसमा युवा सहभागिता, घरेलु हिंसा विरुद्ध सचेतना, मानसिक स्वास्थ्य, कानुनी शिक्षा, नेपाली संस्कृतिको संरक्षण, पर्यटन र खेल प्रवर्द्धन प्रमुख छन्।
“म यहाँ नेतृत्व गर्न होइन, सेवा गर्न आएको हुँ। यदि तपाईं व्यवहारिक नीति, समावेशी नेतृत्व र स्मार्ट समाधानमा विश्वास गर्नुहुन्छ भने, म तपाईंहरूको सेवक बन्न तयार छु।” – प्रताप पन्थी
किन टिम ‘एकता’?
प्रतापले टिम ‘एकता’बाट उम्मेदवारी दिएका छन्। उनी भन्छन्—
“एकता हाम्रो परिचय हो। विविधता, व्यवसायिकता र समर्पणले बनेको यो टिम समुदायका सबै तहका नेपालीहरूलाई प्रतिनिधित्व गर्छ—सहरदेखि ग्रामीण क्षेत्रसम्म। हामी उम्मेदवार मात्र होइन, परिवर्तनका वाहक हौं।”