सिड्नी, जुलाई २ | एनआरएनए (गैर आवासीय नेपाली संघ) न्यू साउथ वेल्स (NSW) को आगामी कार्यकाल (२०२५–२७) का लागि बिबेक ओझाले एनसीसी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। अष्ट्रेलियाको अोबर्नमा बसोबास गर्दै आएका ओझा नेपाली आप्रवासी समुदायभित्र युवा नेताको रूपमा चिनिँदै आएका छन्।
विगत केही वर्षदेखि Auburn Nepalese Community मा कार्यकारी सदस्य तथा एनआरएनए एनएसडब्ल्युको एससीसी सदस्य (२०२३–२५) को रूपमा सक्रिय ओझाले आफूलाई युवाको अभिभावक, समुदायसेवी तथा परिवर्तनको आवाजको रूपमा चिनाएका छन्।
आप्रवासी संघर्षबाट नेतृत्वको यात्रासम्म
२०१६ मा व्यावसायिक सेफका रूपमा अष्ट्रेलिया आएका ओझाले अष्ट्रेलियाको जीवन सुरुवात कठिन संघर्षबाट गरेका थिए। “सांस्कृतिक झड्का, लामो घण्टाको काम, आर्थिक कठिनाइ, र पहिचानको खोज” उनको शुरुआती दिनको कथा हो। यिनै चुनौतीलाई अवसरमा बदल्दै उनले समुदाय सेवामा पाइला अघि सारे।
उनले भनेका छन्, “म नेताको उपाधिका लागि होइन, तपाईंको विश्वासका लागि उम्मेदवारी दिएको हुँ।”
उम्मेदवारीको उद्देश्य
ओझाले आफ्नो उम्मेदवारीको पाँच बुँदे उद्देश्य सार्वजनिक गरेका छन्:
-
नेपाली युवालाई नेतृत्व र करियरमा अगाडि ल्याउने
-
नयाँ आप्रवासीका लागि व्यवहारिक सहयोग प्रणाली बनाउने
-
भाषा, संस्कृति र मौलिक पहिचानलाई संरक्षण गर्ने
-
अष्ट्रेलियाली निकायहरूसँग नेपाली समुदायको सहकार्य बलियो बनाउने
-
अष्ट्रेलियामा सशक्त, सम्मानित र एकीकृत नेपाली पहिचान निर्माण गर्ने
Team EKATA बाट उम्मेदवारी
बिबेक ओझा Team EKATA NSW का तर्फबाट उम्मेदवार बनेका हुन्। उनले टीम एकतालाई “एकता, इमानदारी र सेवा” को मूल्यमान्यतामा आधारित ‘परिणाममुखी नेतृत्व टोली’ भन्दै समर्थन जनाएका छन्।
उनले भने, “Team Ekata का सदस्यहरू परिवर्तनको कुरा मात्र गर्दैनन्, समुदायमा काम गरेर देखाउँछन्।”
समुदायप्रति सन्देश
बिबेकले अन्त्यमा समुदायप्रति यस्तो सन्देश दिएका छन्:
“हामीले त्यस्ता नेताहरू छान्नुपर्छ जसले तपाईंको कथा जिएकाछन्, तपाईंको पीडा बुझेका छन्, र तपाईंको भविष्यप्रति जिम्मेवारी बोध गर्छन्। म तपाईंको मत होइन, तपाईंको विश्वास माग्दैछु।”