एनआरएनए एनएसडब्ल्यू उप-समन्वयक पदका लागि चन्डिका ओलीको उम्मेदवारी घोषणा

everest kitchen

सिड्नी, अष्ट्रेलिया

अष्ट्रेलियाको न्यु साउथ वेल्स (NSW) राज्यमा गैरआवासीय नेपाली संघ (NRNA) को आगामी कार्यकाल (२०२५–२७) का लागि उप-समन्वयक पदमा चन्डिका ओली ओडारीले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।

वर्तमानमा क्वेकर्स हिल, एनएसडब्ल्यूमा बसोबास गर्दै आएकी ओली मूलतः नेपालकी हुन् र २००८ मा अष्ट्रेलिया आएकी थिइन्। व्यवसायिक लेखा विषयमा स्नातकोत्तर र शिक्षामा स्नातक अध्ययन गरेकी ओली नेपालमा सरकारी शिक्षक र व्याख्याता समेत रहेकी थिइन्।

उनी शिक्षिका, सामाजिक अभियन्ता, महिला तथा परिवार हककी आवाज र नेपाली समुदायभित्र सक्रिय नेतृत्वकर्ताका रूपमा चिनिन्छिन्।

“म हाम्रा नेपाली समुदायभित्र एकता, सहभागिता र सशक्तिकरणको भावना फैलाउने लक्ष्यका साथ उम्मेदवारीमा उत्रिएकी हुँ,” चन्डिका ओलीले भनिन्।

उनले एनएसडब्ल्यूमा रहेका नेपाली समुदायलाई सेवामुखी नेतृत्व दिने, नेपाली भाषा-संस्कृति संरक्षण गर्ने, समुदायलाई मानसिक स्वास्थ्य र सामाजिक सेवासँग जोड्ने, साथै महिला र युवाहरूका लागि अवसर सिर्जना गर्ने आफ्नो प्रमुख उद्देश्य भएको बताएकी छन्।

ओलीको उम्मेदवारीका प्रमुख एजेण्डाहरू यस्ता छन्:

  • एनएसडब्ल्यूका नेपाली समुदायबीच सम्वाद र सहकार्यमार्फत एकता प्रवर्द्धन

  • नेपाली भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण र प्रवर्द्धन

  • पासपोर्ट तथा कागजी कार्यका लागि दूतावास र कन्सुलेटसँग प्रभावकारी सहकार्य

  • मानसिक स्वास्थ्य, महिला कल्याण र परिवारिक सशक्तिकरणमा जोड

  • एनआरएनए राष्ट्रिय (NCC) र अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC)सँग सहकार्य

  • महिला तथा युवाहरूका लागि नेतृत्व विकास र सांस्कृतिक अवसरहरूको सिर्जना

“समुदायको प्रत्येक सदस्यको आवाज महत्वपूर्ण छ। म सुन्छु, बुझ्छु र काम गर्छु। मलाई अवसर दिनुहोस्—म देखिने परिवर्तन ल्याउनेछु,” उम्मेदवारी घोषणाको क्रममा उनले भनिन्।

चन्डिका ओली अहिले एनआरएनए एनएसडब्ल्यूमा सक्रिय ‘टीम एकता’ की सदस्य हुन्। उक्त टोलीलाई समुदायमा समावेशी नेतृत्व र व्यावहारिक समाधानको अभियानका रूपमा हेरिएको छ।

“टीम एकता केवल एक निर्वाचन समूह होइन, यो परिवर्तनको अभियान हो। हामी सँगै अघि बढ्न चाहन्छौं जहाँ सबै नेपाली सुरक्षित, सशक्त र एकसाथ महसुस गर्न सकून्,” ओलीले जोड दिइन्।