“अबको नेतृत्व युवाको हातमा” – सुभाष लामिछानेले एनआरएनए जापानको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै

everest kitchen

टोकियो, जापान –
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानमा नेतृत्व परिवर्तनको बहस चलिरहेको बेला, युवा व्यवसायी सुभाष लामिछानेले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्ने भएका छन् ।

बोल्ने होइन, गर्ने नेतृत्व चाहिएको बेला, लामिछानेजस्तो व्यवहारिक अनुभव, सामाजिक सक्रियता र नेतृत्व क्षमताले भरिएको नामले चुनावी प्रतिस्पर्धामा पाइला टेकेको छ।

एनआरएनए जापानका प्रवक्ता हुँदै हाल उपाध्यक्षको भूमिका निर्वाह गरिरहेका लामिछानेले अध्यक्ष पदको जिम्मेवारी सम्हाल्ने इच्छा मात्र होइन, त्यसको आवश्यकता र समयको माग भएको दाबी पनि गरेका छन्।

उनले जुलाई १२, शनिबारका दिन आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गर्ने घोषणा गरेका छन्।

फिल्म बजार, इभेन्ट व्यवस्थापन, प्रवासी नेपालीको सामाजिक सरोकार, सहयोग र संकट व्यवस्थापन— लामिछानेको गतिविधि कुनै एक क्षेत्रमा मात्र सीमित छैन। “नेतृत्व भनेको दृश्यात्मक मात्र होइन, अनुभूत गर्न सकिने शक्ति हो,” उनी भन्छन्।

उनको भनाइमा, “अबको एनआरएनए हिजोको भन्दा फरक हुनुपर्छ। पारदर्शिता, जवाफदेहिता, र युवा सहभागिता मात्रै होइन, जिम्मेवारीमा इमानदारिता पनि ल्याउनुपर्छ। म उम्मेदवार बनेको छु, प्रतिस्पर्धाको लागि मात्र होइन – परिवर्तनको लागि।”

जसरी हरेक पुस्ताले आफ्नो समयको नेतृत्व खोज्छ, यस पटक एनआरएनए जापानका हजारौं सदस्यले कसलाई चुन्ने? नेतृत्व कसले गर्ने? भन्ने सोचिरहेका छन्। सुभाष लामिछानेले भने जवाफ दिन खोजेका छन्— आधुनिक सोच, सामाजिक जिम्मेवारी, र सम्पूर्ण समुदायलाई समेट्ने शैलीको नेतृत्व।

अब हेर्न बाँकी छ, जापानबासी नेपालीहरूले युवा नेतृत्वलाई मौका दिनेछन् कि परम्परालाई निरन्तरता?