पर्थ, पश्चिमी अष्ट्रेलिया – जुलाई ७, २०२५
नेपाली कला, संस्कृति र सामाजिक समर्पणमा निरन्तर सक्रिय एइमी थापाले गैरआवासीय नेपाली संघ (NRNA) – पश्चिमी अष्ट्रेलिया (WA) को आगामी कार्यकाल (२०२५–२०२७) अन्तर्गत नारी निकुञ्जको महिला सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।
थापाले आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै भनिन्, “म युवापुस्ताकी प्रतिनिधिका रूपमा नेपाली समुदाय, महिलाको सशक्तीकरण र सांस्कृतिक पहिचानको प्रवर्द्धनमा निरन्तर क्रियाशील छु। मेरो उम्मेदवारी कुनै पदका लागि मात्र होइन, एउटा सोच र परिवर्तनका लागि हो।”
विगत केही वर्षदेखि पर्थमा बसोबास गर्दै आएकी एइमी थापा नेपाली समुदायमा विविध सामाजिक, सांस्कृतिक तथा रचनात्मक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएकी छिन्। पर्थका साथै अष्ट्रेलियाका अन्य राज्यहरूमा समेत नेपाली संस्कृति र कला प्रवर्द्धनमा योगदान दिँदै आएकी उनी विभिन्न संस्थाहरूबाट सम्मानित समेत भएकी छिन्।
उनका प्रमुख उद्देश्यहरू:
-
नेपाली भाषा, कला र मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धन
-
महिलाको सशक्तीकरण, नेतृत्व र सहभागिता सुनिश्चित गर्ने
-
युवापुस्ताको सक्रियता र क्षमतामा आधारित समुदाय विकास
-
समावेशी, समान र एकीकृत नेपाली समाजको निर्माण
एइमी थापाले भनिन्, “महिला समाजको मेरुदण्ड हुन्। उनीहरूको आवाज, आत्मबल र नेतृत्वलाई अघि बढाउने कार्यमा म निष्ठाका साथ समर्पित हुनेछु।”
उनले सम्पूर्ण पश्चिमी अष्ट्रेलियाबासी नेपालीहरूलाई साथ, समर्थन र विश्वासको आह्वान गर्दै आगामी यात्रामा सबैलाई सहयात्री बन्न अनुरोध गरेकी छन्।